सहिद स्मारक ‘बी’ डिभिजन लिग

लिग च्याम्पियन चर्च ब्वाइजको सुखद अन्त्य

काठमाडौं । एक खेल अगावै लिग च्याम्पियन बनेको चर्च ब्वाइज युनियनले अन्तिम खेलमा जित निकाल्दै सहिद स्मारक ‘बी’ डिभिजन लिगको सुखद अन्त्य गरेको छ ।

चर्च ब्वाइजले लिगको अन्तिम खेलमा सरस्वती युथ क्लबलाई २–१ ले पराजित गर्यो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलको २३औं मिनेटमा विकाश राईले गरेको गोलबाट चर्चले अग्रता लिएको थियो ।

खेलको ४६औं मिनेटमा सनम धिमालले गोल गरेपछि सरस्वती बराबरीमा फर्किएको थियो ।

तर, आशिष चौधरीले ६६औं मिनेटमा निर्णायक गोल गरेपछि चर्च ब्वाइजले २–१ को जित निश्चित गर्यो ।

जितसँगै शीर्ष स्थानको चर्च ब्वाइजले १३ खेलबाट २९ अंक जोडेको छ । यस्तै, समान खेल खेलेको सरस्वतीको १७ अंक छ ।