त्रिदेशीय ट्वान्टी २० श्रृंखला

पिएनजीलाई १९७ रनको लक्ष्य

काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी २० क्रिकेट शृंखलामा मलेसियाले पपुवा न्यु गिनी (पिएनजी) सामू एक सय ९७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९६ रनको योगफल तयार गर्यो ।

मलेसियाका दुई ब्याटरले अर्धशतकीय इनिङ खेले । सेद अजिजले सर्वाधिक ६४ रन जोड्दा कप्तान अहमेद फैजले ६३ रन बनाए । यी दुई ब्याटरले तेस्रो विकेटका लागि एक सय १५ रनको साझेदारी गरे ।

यसबाहेक, जुबैदी जुल्किफ्लेले ४६ र विरन्दीप सिंहले १० रन जोडे ।

पिएनजीका काबुअ मोरेआले सर्वाधिक चार विकेट लिँदा रिले हाकुरे र चाड सोपरले समान एक विकेट लिए ।

पिएनजीले शृंखलाअन्तर्गत नेपालविरुद्धको दुबै खेल हार्दा मलेसियासँग पहिलो खेलमा पनि पराजित भएको थियो ।

यस्तै, पिएजनीलाई पहिलो खेलमा हराएको मलेसिया दोस्रो खेलमा भने नेपालसँग ६ विकेटले पराजित भएको थियो ।