हाइ अल्टिच्युट

प्रथम प्रधानसेनापति अन्तर्राष्ट्रिय हाइ अल्टिच्युड ट्राई एड्भेन्चर जेठ सातमा

काठमाडौं । नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको आयोजनामा जेठ पहिलो साता प्रथम प्रधानसेनापति अन्तर्राष्ट्रिय हाइ अल्टिच्युड ट्राई–एडभेन्चर हुने भएको छ ।

मुस्ताङको जोससोममा जेठ सात गते हुने प्रतियोगितामा नेपाली र विदेशी टोली गरि कुल १५ टोलीको सहभागिता रहने नेपाली सेनाका सेनानी तथा प्रतियोगिता संयोजक राजिव चन्दले बताए ।

 चन्दले प्रतियोगितामा सहभागिताका लागि भारत, चीन, पाकिस्तान, श्रीलंका, अमेरिका, बेलायत, माल्दिभ्स, इजरायल, दक्षिण कोरिया र बंगलादेशको सैनिक टोलीलाई पत्राचार गरिसकेको बताए । नेपालबाट प्रतिनिधित्व गर्ने पाँच टोलीको टुङ्गो भने छनोटमार्फत गरिने उनले बताए । 

शनिबारबाट छनोट चरण हुनेछ । छनोटको अन्तिम नतिजा वैशाख २५ गते सार्वजनिक गरिने बताइएको छ ।

२७ सय ८० देखि ३२ सयसम्मको उचाईमा हुने प्रतियोगितामा सहभागी खेलाडीले एक सय मिटरको क्लाइम्बिङ, ४.७५ किमीको दौड र १४.३५ किमीको साइक्लिङ गरी कुल २०.२ किमीको दुरी पूरा गर्नु पर्नेछ । 

प्रत्येक टोलीमा दुई खेलाडी रहने र दुवै खेलाडीले रेस पूरा गर्नुू पर्ने चन्दले बताए । कएक खेलाडीले मात्र रेस पूरा गरेमा सो टोली अयोग्य घोषित हुनेछ ।

नेपालमा महिला र पुरुष खेलाडी नै भएका टोली नहुने भएकाले दुवैको छुट्टा–छुट्टै प्रतियोगिता गर्न लागिएको  चन्दले बताए ।

प्रतियोगिताको लागि पाहुना टोलीहरु वैशाख ३० गते नेपाल आइपुग्ने तालिका छ । त्यसको भोलिपल्ट विदेशी टोली  र जेठ तीन गते नेपाली टोली जोमसोमतर्फ प्रस्थान गर्नेछन् ।

प्रतियोगितामा पुरुषतर्फको विजेताले तीन लाख रुपैंया, उपविजेताले दुई लाख रुपैंया र तेस्रो हुने टोलीले एक लाख रुपैंया प्राप्त गर्नेछन् । यस्तै, महिलातर्फको विजेताले एक लाख, उपविजेताले ७५ हजार र तेस्रो हुनेले ५० हजार रुपैंया पाउनेछन् ।

हाइ अल्टिच्युट प्रतियोगितामा महिला खेलाडीको सहभागिता कम हुने भएकाले पुरस्कार राशीमा कम गरिएको आयोजकले बतायो ।