सुदूरपश्चिम स्पाेर्टस् अवार्ड

सुदूरपश्चिमाञ्चल एकेडेमी सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजक

धनगढी । ‘तेस्रो सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ । धनगढीमा रहेको निजि क्षेत्रको प्रतिष्ठित क्याम्पस सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) ले मुख्य प्रायोजन गरेसँगै अवार्डको नाम एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड रहने भएको छ । 

शुक्रबार नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझा र सुदुरपश्चिमाञ्चल एकेडेमीका निर्देशक सुवाश शाही बीच प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । प्रायोजनपछि बोल्दै एसपिएका निर्देशक शाहीले अवार्डसँग जोडिन पाउँदा खुशी लागेको बताए । लामो समयदेखि खेलकुद क्षेत्रमा सक्रिय शाहीले आगामी दिनमा अवार्डसँग निरन्तर जोडिएर साथ दिने प्रतिबद्धता व्यक्त गरे । 

अवार्डको तेस्रो संस्करणको तयारी तिव्र रुपमा भइरहेको छ । उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड दिइने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ । 

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । 

‘सुदूरपश्चिम स्पोर्टस अवार्ड’को तेस्रो संस्करणको मुख्य प्रवर्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ । त्यस्तै वर्षको पुरुष खेलाडी विधालाई काठमाण्डौंको मास ह्युम रिर्सोस र बर्ष महिला खेलाडी विधालाई वनदेवी युवा क्लबले प्रायोजन गरेको छ । सह प्रायोजकमा केल्मी रहेको छ ।