नेपाली क्रिकेट

पिएनजीविरुद्ध नेपालको रोमाञ्चक जित

काठमाडौं । कप्तान सन्दीप लामिछानेको तीन विकेटप्रेरित नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाको पहिलो खेलमा पपुवा न्यु गिनी (पिएनजी) लाई १५ रनले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको पिएनजीले १९.२ ओभरमा सबै विकेट गुमाएर एक सय ६८ रनमात्र जोड्न सक्यो ।

पिएनजीका नोर्मान भानुआले सर्वाधिक ५२ रन बनाए । यस्तै, सेसे बाउले ३०, चार्ल्स एमिनीले २२, लेगा सिएकाले २१ र नोर्मान भानुआले १९ रन बनाए ।

पिएनजीविरुद्ध किफायती बलिङ गरेका सन्दीप र करण केसीले समान तीन विकेट लिए । सन्दीपले चार ओभर बलिङमा २२ रन खर्चिदा करणले ४४ रन खर्चिएका थिए । यसबाहेक, अविनाश बोहराले दुई र सोमपाल कामीले एक विकेट लिए ।

लयमा देखिएका भानुआलाई १८.५ ओभरमा करणले पभेलियनका दिशा देखाएपछि नेपाल खेलमा फर्किएका थियो । यसै ओभरको अन्तिम बलमा सिमोन अटाईको विकेट लिएपछि नेपालले जिततर्फ अग्रसर भएको थियो । 

यसअघि टस हारेर ब्याटिङमा निम्त्याइएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ८३ रनको योगफल तयार गरेको थियो ।

नेपालका ओपनर आशिफ शेखले सर्वाधिक ४३ रन बनाएका थिए । उनले ३५ बलमा पाँच चौका र एक छक्का प्रहार गरेका थिए ।

स्कोर बोर्डमा २५ रन जोड्दा कुशललाई पहिलो विकेटका रुपमा गुमाए पनि त्यसपछि आशिफ र रोहितकुमार पौडेलले दोस्रो विकेटका लागि ८० रनको साझेदारी गर्दै नेपालको इनिङ सम्हालेका थिए । रोहित २६ बलमा दुई चौका र एक छक्कासहित ३४ रन बनाए ।

त्यसअघि नेपालका अर्का ओपनर कुशल भुर्तेल ११ बलमा तीन चौका र एक छक्कासहित २० रन बनाएर आउट भएका थिए ।

टोलीको खातामा करण केसीले दुई छक्कासहित १४ रन थप्दा आरिफ शेखले २२ बलमा एक चौका र दुई छक्कासहित ३१ रन र कुशल मल्लले ६ बलमा एक चौका र एक छक्कासहित ११ रन बनाएका थिए ।

यसबाहेक, लोकेश बमले पाँच, दीपेन्द्रसिंह ऐरीले चार र सोमपाल कामीले एक रन जोड्दा कप्तान सन्दीप लामिछाने एक र अविनास बोहरा सुन्य रनमा अविजित रहे ।

पिएनजीका अलेइ नाओ, चाड सोपर र चाल्र्स एमिनीले समान दुई विकेट लिँदा नोर्मान भानुआ र रिले हाकुरेले एक एक विकेट हात पारे ।

ट्वान्टी २० शृंखलामा नेपाल, पिएनजी र मलेसिया सहभागी छन् ।

ट्वान्टी २० शृंखलाअघि खेलिएको दुई खेलको एकदिवसीय शृंखलामा नेपाल पिएनजीसँग २–० ले पराजित भएको थियो ।