सहिद स्मारक ‘बी’ डिभिजन लिग

बाँसबारीले नयाँबस्तीलाई हरायो

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत सोमबारको दोस्रो खेलमा बाँसबारी क्लबले नयाँबस्ती युथ क्लबलाई ३–१ ले हराएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलको चौथो मिनेटमा बिकी राईले राईले गोल गर्दै बाँसबारीलाई अग्रता दिलाएका थिए । सुलेमान थापामगरले २५औं मिनेटमा बाँसबारीको अग्रता दोब्बर पारे ।

नयाँबस्तीका सोम थापाले ३२औं मिनेटमा एक गोल फर्काए । तर, सञ्जय धिमालले ८५औं मिनेटमा गोल गरेपछि बाँसबारीले सहज जित पक्का गर्यो ।

जितसँगै बाँसबारीले नौ खेलबाट १३ अंक जोडेको छ । यस्तै, समान खेल खेलेको नयाँबस्तीले १३ अंक जोडेको छ ।

आजै भएको पहिलो खेलमा खुमलटार युथ क्लबले विरगंज युनाइटेडलाई २–१ ले पराजित गरेको थियो ।

फागुन १८ गतेदेखि सुरु भएको लिगमा सहभागी १४ टोलीमध्ये शीर्ष दुई टोली ए डिभिजन लिगमा बढुवा हुनेछन् भने पुछारका दुई टोली तेस्रो डिभिजनमा घटुवा हुनेछन् ।