दिनेश चन्डिमलले भैरहवाबाट इपिएल खेल्ने

काठमाडौं, (खेलाडी) – श्रीलंका क्रिकेट टोलीको तीनै फरम्याटमा कप्तानी गरिसकेका दिनेश चन्डिमलको आगामी एभरेस्ट प्रिमियर लिग (इपिएल)को टोली भैरहवा ग्ल्याडियटर्सबाट खेल्ने भएका छन् ।

आगामी असोज ९ देखि २३ सम्म एभरेस्ट प्रिमियर लिग (इपिएल) हुँदै छ, उक्त फ्रेन्चाइज लिगमा खेल्ने उनी टेस्ट राष्ट्रका पाँचौं क्रिकेटर हुन् । यसअघि पाकिस्तानका साहिद अफ्रिदी (काठमाडौं किङ्स–११), सोएब मलिक, डानिस अजिज (चितवन टाइगर्स) र वेस्ट इन्डिजका कार्लोस ब्राथवेट हुन् ।

ब्राथवेट र मलिकको भने टोली घोषणा भइसकेको छैन । भैरहवाले बिहीबार विज्ञप्तिमार्पmत श्रीलंकाका अनुभवी क्रिकेटर चन्डिमललाई अनुबन्धित गरेको जनाएको हो । उनलाई विदेशी खेलाडीको रूपमा भैरहवाले भित्राएको हो ।

उनले श्रीलंकाका लागि तीनै फरम्याटका क्रिकेटको कप्तानीसमेत गरिसकेका छन् । उनी सर्वाधिक कम उमेरमा श्रीलंकाको ट्वान्टी–२० टोलीको कप्तानी गर्ने खेलाडी हुन् । सन् २०१३ मा चन्डिमलले बंगलादेशविरुद्ध २३ वर्ष १ सय ३३ दिनको उमेरमा कप्तानी गरेका थिए । श्रीलंकाले सन् २०१४ को ट्वान्टी–२० विश्वकप जित्दा उनी टोलीका महŒवपूर्ण सदस्य हुन् । फाइनलमा भारतलाई ६ विकेटले हराउँदै श्रीलंकाले उपाधि जितेको थियो ।

विकेटकिपर ब्याट्सम्यान चन्डिमलले सन् ०१३ मा दक्षिण अफ्रिकाविरुद्ध एकदिवसीयमा पनि कप्तानी गरेका थिए । उनले श्रीलंकाबाट ६२ टेस्ट, १ सय ४९ एकदिवसीय र ५७ ट्वान्टी–२० खेलेका छन् । चन्डिमलले ट्वान्टी–२० आईमा पाँच अर्धशतकसहित कुल ८ सय ६८ रन जोडेका छन् ।  इन्डियन प्रिमियर लिग (आइपिएल)को टोली राजस्थान रोयल्सबाट खेलिसकेका ३१ वर्षे चन्डिमल श्रीलंकाको ब्याट्सम्यान हुन् ।

उनै चन्डिमल अब नेपालको फ्रेन्चाइज क्रिकेट टोलीका सदस्य भएका छन् । उनको टोली ग्लाडियटर्सबाट शरद भेषावाकर, प्रदीप ऐरी, आरिफ शेख, कृष्ण कार्की, भुवन कार्की, दीपेश श्रेष्ठ, रोहितकुमार पौडेल, हरिशंकर झा, अभिनाश बोहोरा, कुशल मल्ललगायतले खेल्नेछन् ।

उक्त टोलीको प्रशिक्षणमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रमुख प्रशिक्षक पुबुदु दसानायकेले जिम्मेवारी पाइसकेका छन् । इपिएलको लागि भैरहवाले आन्तरिक तयारी पनि सुरु गरिसकेको छ । हाल अन्य विदेशी खेलाडीको नाम पनि छलफलकै क्रममा रहेको र केही दिनमा नै त्यसबारे सार्वजनिक गर्ने भैरहवाले जनाएको छ । कोरोना संक्रमणका कारण यसअघि प्रतियोगिता सरेपछि भैरहवाले प्रशिक्षक नियुक्ति, ट्यालेन्ट हन्टलगायत कार्यक्रम स्थगित भएको जनाएको छ ।

भैरहवा ग्लाडियटर्सले श्रीलंका क्रिकेट टोलीको तीनै फरम्याटमा कप्तानी गरिसकेका अनुभवी क्रिकेटर दिनेश चन्डिमललाई अनुबन्धित गरेको जनाएको छ । उनलाई विदेशी खेलाडीको रूपमा भैरहवाले भित्राएको हो ।