आइसिसी विश्व क्रिकेट लिग डिभिजन २

आज पनि चलेनन् नेपाली ओपनर

दुबई । आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन २ अन्तर्गत त्रिकोणात्मक शृंखलामा संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध नेपालले खराव सुरुआत गरेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा घरेलु टोलीले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याइरहेको नेपालले १५ ओभरको समाप्तीमा ४५ रन जोड्दा तीन विकेट गुमाएको छ ।

जारी खेलमा क्रिजमा ज्ञानेन्द्र मल्ल १५ र रोहितकुमार पौडेल सात रनमा खेलिरहेका छन् ।

आजको खेलमा पनि नेपालको ओपनर जोडीसँगै दीपेन्द्रसिंह ऐरी चल्न सकेनन् । नेपालले खातामा १८ रन जोड्दा पहिलो विकेटको रुपमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । १५ बलमा एक चौकासहित ११ रन जोड्दा कुशल ४.१ ओभरमा जुनैद सिद्दिकीबाट बोल्ड भए । नेपालले सोही ओभरमा अर्को ओपनर आशिफ शेखलाई पनि गुमायो । १२ बलमा एक चौकासहित सात रन बनाएका आशिफ ४.४ ओभरमा चिराग सुरीबाट क्याच भए ।

यस्तै, ८.५ ओभरमा तेस्रो विकेटका रुपमा नेपालका दीपेन्द्र पभेलियन फर्किए । १० बलमा चार रन बनाएका दीपेन्द्र ८.५ ओभरमा रन आउट भए । नेपालले शृंखलाको पहिलो खेलमा पपुवा न्यु गिनीलाई दुई विकेटले हराएको थियो ।

त्यसअघि  टस जितेर ब्याटिङमा आएकाे युएईले ४६.३ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६८ रनको योगफल तयार गरेकाे थियाे।