सहिद स्मारक ‘बी’ डिभिजन लिग

टुसाल र मध्यपुरले अंक बाँडे

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत शुक्रबारको दोस्रो खेलमा टुसाल युथ क्लब र मध्यपुर युथ एसोसियसनले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दुबै टोलीले गोलका केही अवसरहरुको शृंजना गरे पनि त्यसको सदुपयोग गर्न सकेनन् ।

बराबरीसँगै ६ खेलबाट सात अंक जोडेको टुसाल तालिकाको साताैं स्थानमा यथावत् छ । टुसालले लिगका ६ खेलमध्ये एकमा जित, चारमा बराबर र एकमा हारको नतिजा आत्मसाथ गरेको छ ।

यस्तै, समान खेलबाट चार अंक जोडेको मध्यपुर तालिकाको १३औं स्थानमा छ । एकमा जित र एक खेलमा बराबरीको नतिजा निकालेको मध्यपुर चार खेलमा पराजित भएको थियो ।

लिगमा पाँच खेलबाट ११ अंक जोडेको चर्च ब्वाइज युनाइटेड तालिकाको शीर्ष स्थानमा छ ।

यसअघि आजै भएको पहिलो खेलमा नयाँबस्ती युथ क्लबले सामाजिक युथ क्लबलाई २–१ ले हराएको थियो ।

फागुन १८ गतेदेखि सुरु भएको प्रतियोगितामा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । जसमा लिगको शीर्ष दुईमा रहने टोली ‘ए’ डिभिजन लिगमा छनोट हुनेछन् भने पुछारका दुई टोली तेस्रो डिभिजनमा घटुवा हुनेछन् ।