नेपाली राष्ट्रिय क्रिकेट टोली

विश्वकप छनोटः युवा खेलाडीलाई शिक्षा

काठमाडौं । ग्लोबल छनोटमा मंगलबार युएईसँग ६८ रनले पराजित भएसँगै यसै वर्ष हुने आइसिसी ट्वान्टी २० विश्वकप खेल्ने नेपालको सम्भावना समाप्त भयो । सन् २०१४ मा बंगलादेशमा भएको ट्वान्टी २० कप खेलेको नेपालले त्यसयताका दुई संस्करणको छनोट नखेलेको होइन, तर यति नजिक पुगेको थिएन ।

बलिङ–ब्याटिङ दुवैतर्फ निरीह देखिएको नेपालले युएईविरुद्ध फराकिलो पराजय भोगेसँगै विश्वकप ग्लोबल छनोटको सेमिफाइनलबाट बाहिरिनु नेपालका लागि मुखै नजिक आएको गाँस खोसिनु जस्तै भयो । हुनत! युवा खेलाडीको बाहुल्य रहेको नेपाली टोलीले तय गरेको सेमिफाइनलसम्मको यात्रा पनि सानो उपलब्धी होइन । तर, फेरि त्यहाँसम्म पुग्न नेपाललाई सहज हुनेछैन ।

यदि हिजोको एक खेलमा जित निकालेको भए भन्ने समग्र नेपाली क्रिकेटसँग सरोकारवालालाई लागेको छ । समग्र नेपाली पनि त्यो एक खेल जितेको भए भन्दै चुक्चुकाइरहेका छन् । खेलपछि नेपालका कप्तान सन्दीप लामिछानेले दिएको अभिव्यक्ति पनि त्यस्तै थियो ।

‘आजकै खेलमा सबै कुरा नराम्रो हुनु हाम्रा लागि दुभाग्य भयो,’ सन्दीपले भने, ‘बलिङ सुरुमा बिग्रिए पनि पछि पुनरागमन भएको थियो... आजसम्म राम्रो खेलेका थियौं, आजनै सबै कुरा नराम्रो भयो ।’

समूह चरणका तीन खेलमा सतप्रतिशत नतिजा निकालेको नेपाललाई सेमिफाइनलअघि सम्म बलियो टोली मानिएको थियो । तर, युवा जोसले भरिएको नेपाली टोलीमा ठूला खेलको दबाब सहन सक्ने अनुभवको कमीको अभाव खड्कियो । नेपाली टोलीका पूर्व प्रशिक्षक जगत टमाटाले पनि युवा टिम भएकाले आत्तिएको जस्तो देखिएको बताए ।

‘नेपालको युवा खेलाडीले भरिएको टोली भयो,’ टमाटाले भने, ‘ब्याटिङ लाइन–अप राम्रो भएकाले १ सय ७५ चेज गर्न नसक्ने टोली होइन, नेपाल । तर केटाहरू अलि आत्तिएको जस्तो लाग्यो ।’

आफ्नै नेतृत्वमा नेपाललाई ‘मेडन’ ट्वान्टी २० विश्वकप खेलाएका पुवुदु दसानायके युवा खेलाडीलाई लिएर ओमान भ्रमणमा निस्किए । पुवुदुको युवा टोलीमा २०१४ को विश्वकप खेलेका दुई खेलाडी– पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र फास्ट बलर जितेन्द्र मुखियाबाहेक कोही थिएनन् । त्यसवाहेक त पछिल्लो दुई वर्षमा ट्वान्टी २० अन्तर्राष्ट्रियमा डेब्यू गरेका खेलाडीले नेपाली टोली भरियो । त्यसमाथि पनि नेपालले विश्वकप छनोटअघि खेलेको चारदेशीय ट्वान्टी २० शृंखलामा ट्वान्टी २० मा डेब्यू गरेका गुलशन झा, विवेक यादव र लोकश बम पनि टोलीमा परे ।

नेपालले २०१४ पछि आयोजित दुई संस्करणमा छनोट हुने अवुसरको पनि फाइदा उठाउन सकेन । अझ भनौं ती दुई संस्करणको यति नजिक पनि पुग्न सकेन, जति यसपाली पुगेको थियो । जब नेपालले २०१४ मा विश्वकप खेल्यो, त्यसयता ट्वान्टी २० विश्वकप वा भनौं त्यसको छनोटमा नेपालको प्रदर्शन लगातार खस्किएकै देखिन्छ । र, पछिल्ला दुई विश्वकपको छनोटमा पनि त्यस्तै भयो ।

नेपालले २०१४ पछि आयोजित दुई संस्करणमा छनोट हुने अवुसरको पनि फाइदा उठाउन सकेन । अझ भनौं ती दुई संस्करणको यति नजिक पनि पुग्न सकेन, जति यसपाली पुगेको थियो । जब नेपालले २०१४ मा विश्वकप खेल्यो, त्यसयता ट्वान्टी २० विश्वकप वा भनौं त्यसको छनोटमा नेपालको प्रदर्शन लगातार खस्किएकै देखिन्छ । र, पछिल्ला दुई विश्वकपको छनोटमा पनि त्यस्तै भयो ।

भारतमा २०१६ मा भएको विश्वकप छनोटमा नेपालले एसिया रिजन नै पार गर्न सकेन । स्कटल्यान्ड र आयरल्यान्डमा संयुक्तरूपमा भएको त्यो छनोटमा नेपाल प्रतिस्पर्धाका लागि युरोप पुगेका सात टोलीमध्ये अन्तिम भएको थियो । सन् २०१३ मा भएको आइसिसी वर्ल्ड ट्वान्टी २० छनोटको तेस्रो स्थानमा रहँदै ग्लोबल छनोट खेल्न युरोप पुगेको नेपालले एक खेलमा मात्र जित निकालेको थियो । त्यो छनोटबाट शीर्ष स्थानमा रहँदै आयरल्यान्डले विश्वकपमा स्थान बनाउँदा अन्य चार टोलीले प्लेअफमा स्थान बनाएका थिए । तर, नेपाल तुलनात्मकरूपमा बलियो देखिए पनि तालिकाको पुछारमा रहेर बाहिरिनु पर्यो ।

सन् २०२० मा अस्ट्रेलियामा हुने तय भएको विश्वकपका लागि २०१८ मा छनोट भएको थियो । त्यस क्रममा नेपालले एसिया रिजनल छनोट नै पार गर्न सकेन । एसिया छनोटको फाइनलसम्म पुगेको नेपाल सिंगापुरसँग पराजित हुँदा आइसिसी ट्वान्टी २० पुरुष विश्वकप छनोटमै पुग्न सकेन । मलेसियामा भएको आइसिसी वर्ल्ड ट्वान्टी २० एसियाको फाइनलमा पुगेको नेपाल सिंगापुरसँग पहिलो पटक ट्वान्टी २० मा पराजित भयो । र, त्यो हारको मुल्य नेपालले विश्वकपसम्म पुग्ने सम्भावना टुङ्ग्याएर चुकाउनु पर्यो ।  

त्यहाँसम्म आइपुग्दा सन् २०१४ मा विश्वकप खेलेको नेपाली टोलीको लगातार ओरालो यात्रा देखिन्थ्यो ।

तर, यसपाली ग्लोबल छनोटका लागि ओमान पुग्ने बलियो टोलीमध्ये अवश्य नेपाल एक थियो । त्यसमाथि समूह चरणमा मिडिल–इस्टको बलियो टोली ओमानलाई पराजित गर्दै छनोटको सुरुआत गरेको नेपाल सतप्रतिशत जित सहित सेमिफाइनल पुग्यो । दोस्रो खेलमा फिलिपिन्स र क्यानडामाथि रवाफिलो जित निकाल्दै नेपाल समूह ‘बी’ विजेताको हैसियतमा अन्तिम चारमा पुगेको थियो ।

समूह चरणमा पुगेका अन्य तीन टोली– आयरल्यान्ड, ओमान र युएई कसैले पनि सतप्रतिशत नतिजा निकालेका थिएनन् । यसअर्थमा पक्कै अन्य टोलीले नेपालविरुद्ध खेल्नु नपरे हुन्थ्यो भन्ने चाहन्थे । तर, समूह चरणको मोमेन्टमलाई नेपालले कायम राख्न सकेन र सेमिफाइनलमा युएईसँग फराकिलो हार बेहार्दै विश्वकपबाट वञ्चित हुनुपर्यो ।

‘युएईले विकेट गए पनि आक्रमक शैलीमा खेल्यो, समग्रमा उनीहरूले हामीभन्दा उत्कृष्ट क्रिकेट खेले,’ टमाटाले बुधबारको खेलबारे भने ।

छनोट सुरु हुनुअघि नेपाल पनि दावेदार टोली थियो । सेमिफाइनलसम्म पुग्दा नेपालको दाबेदारी अझै मजबुत बनेको थियो । तर, खेलकुद अनुमान, आंकलन र विगतको आधारमा चल्दैन भन्ने कुरा फेरि स्थापित भयो, नेपाल युएईसँग त्यो क्षणमा पुगेर चुक्यो, जहाँबाट अस्ट्रेलियामा ऐतिहासिक दोस्रो पटक विश्वकपको टिकट नजिकै देखिन्थ्यो ।

नेपालले हिजोको खेलमा जित निकालेको भए नेपाली क्रिकेटमा नयाँ अध्यायसँगै आयाम पनि थपिन्थ्यो । कुनै टोलीले विश्वकप खेल्नु र नखेल्नुले ठूलो अर्थ राख्छ । र, विश्वकप खेल्दै त्यसको सकारात्मक अर्थ हासिल गर्ने मौका नजिक पुगेर नेपाल चुक्यो । नेपाली क्रिकेटका लागि हिजोको खेल समग्र क्रिकेटको रुपरेखा परिवर्तन गर्ने एक खेल बन्न सक्थ्यो ।

हिजोको खेल जितेको भए, नेपाली क्रिकेटमा नयाँ आयाम थपिन्थ्यो । किनभने, विश्वकप खेल्ने टोलीको महत्त्व फरक हुन्छ । यसले समग्र नेपाली क्रिकेटको रुपरेखा नै परिवर्तन गरिदिन सक्थ्यो ।

विश्वकप नजिक पुगेर चुकेको नेपाली टोलीको भविष्य भने उज्ज्वल देखिन्छ । सेमिफाइनलमा पुगेर एक खेल हारे पनि समूह चरणमा देखाएको प्रदर्शनले पनि त्यसलाई पुष्टि गर्छ ।

नेपाली टोलीमा भएका आसिफ शेख, लोकेस बम, गुल्शन झा, कुशल भुर्तेल, कमलसिंह ऐरी सबै नयाँ खेलाडी हुन् । भर्खरै डेब्यू गरेका खेलाडी हुन् ।

‘अन्तर्राष्ट्रिय एक्सपोजर कमी छ, अनुभवको कमी झल्किन्छ नै । तर, उनीहरूले पर्याप्त म्याच एक्सपोजर दिने हो भने भविष्यमा नेपालले हिजोको असफलतालाई सफलतामा परिवर्तन गर्नेमा विश्वस्त हुन सकिन्छ’ पूर्व प्रशिक्षक टमाटा भन्छन्, ‘अहिले पराजित भए पनि... नेपाली टोली राम्रो बनेको छ, युवा र क्षमतावान् खेलाडीले भरिएको टिम बनेको छ । त्यसका लागि युवा खेलाडीलाई पर्याप्त एक्स्पोजर र खेलको अनुभव दिइनुपर्छ ।’

युएईसँग पराजित भएपछि नेपालका कप्तान सन्दीप लामिछानेले पनि यो आफ्नो टोलीलाई हेर्दा गर्व लाग्ने र अगाडि राम्रो गर्ने बताए । ‘यो टिमलाई हेर्दा गर्व लाग्छ,... यो टोलीले भविष्यमा धेरै राम्रो गर्न सक्छ,’ सन्दीपले भने ।