भारत-वेस्ट इन्डिज शृंखला

भारतलाई ट्वान्टी २० शृंखला

कोलकाता । तीन ट्वान्टी २० शृंखलाको दोस्रो खेलमा आठ रनको जित निकालेसँगै भारतले पाहुना टोली वेस्ट इन्डिवविरुद्धको शृंखला एक खेल अगावै जितेको छ ।

शुक्रबार कोलकातास्थित इडेन गार्डेन क्रिकेट मैदानमा एक सय ८७ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर एक सय ७८ रनमात्र जोड्न सक्यो ।

वेस्ट इन्डिजका रोभम्यान पोवेलले सर्वाधिक ६८ रन बनाए । उनले ३६ बलमा चार चौका र पाँच छक्का प्रहार गरे । यस्तै, ६२ रन बनाएका निकोलस पुरनले ४१ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे । यसबाहेक, ब्रान्डन किंगले २२ रन जोडे ।

भारतका रवि बिस्नोइ, भुवनेश्वर कुमार र युजभेन्द्र चहलले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ८६ रनको योगफल खडा गरेको थियो ।

भारतका इसान किसन र ऋसब पन्तले समान ५२ रन बनाए । इसानले ४१ बलमा सात चौका र एक छक्का प्रहार गर्दा ऋसबले २८ बलमा सात चौका र एक छक्का प्रहार गरे । यस्तै, वेनकटेस ऐयरले ३३ रन जोड्दा कप्तान रोहित शर्माले १९ रन बनाए ।

वेस्ट इन्डिजका रोस्टन केजले तीन विकेट लिए । यस्तै, सेल्डोन कोट्रेल, र रोमारियो सेफार्डले समान एक विकेट लिए ।

भारतले यसअघि ट्वान्टी २० शृंखलाको पहिलो खेलमा वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको थियो ।

शृंखलाअन्तर्गतको अन्तिम ट्वान्टी २० खेल आइतबार कोलकातामै हुनेछ ।