इटालियन सिरी ए

बराबरीमा रोकियो युभेन्टस

रोम । युभेन्टस इटालियन सिरी ‘ए’ मा शुक्रबार टोरीनोसँग १–१ को बराबरीमा रोकिएको छ ।

घरेलु मैदानमा म्याथ्यु डे लिग्डले १३औं मिनेटमा गरेको गोलबाट युभेन्टसले अग्रता लिएको थियो । तर, ६२औं मिनेटमा एन्ड्रिया बेलोट्टीले गोल गर्दै टोरिनालाई बराबरीमा फर्काएपछि युभेन्टसले एक अंकमै चित्त बुझाउनु पर्यो ।

बेलोट्टी र टोरिनाबीचको सम्झौता सिजनको अन्त्यसँगै समाप्त हुँदैछ । र, उनले क्लबसँग नयाँ सम्झौता नगर्ने देखिएको छ ।

बराबरीसँगै युभेन्टस शीर्ष स्थानको एसी मिलानभन्दा आठ अंकले पछि परेको छ । तालिकाको चौथो स्थानमा रहेको युभेन्टसले २६ खेलबाट ४७ अंक जोड्दा एक खेल कम खेलेको मिलानको ५५ अंक छ ।

यस्तै, २५ खेलबाट ३३ अंक जोडेको टोरिनो तालिकाको १०औं स्थानमा छ ।