ट्वान्टी २० विश्वकप क्वालिफायर्स

क्यानडा ११८ रनले विजयी

मस्कट । ओपनर म्याथ्यु स्पुर्सको शतकीय इनिङप्रेरित क्यानडाले आइसिसी ट्वान्टी २० विश्वकप क्वालिफायर्समा फिलिपिन्सलाई एक सय १८ रनले पराजित गरेको छ ।

ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा दुई सय १७ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ९८ रनमात्र जोड्न सक्यो ।

फिलिपिन्सका ड्यानियल स्मिथले सर्वाधिक ३५ रन बनाए । यस्तै, कपिल कुमारले २३ र विमल कुमारले १५ रन बनाए ।

क्यानडाका साद बिन जफर र कलिम साना दुई विकेट लिँदा जुनैद सिद्दिकले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङमा आएको क्यानडाले निर्धारित २० ओभरमा एक विकेट गुमाएर दुई सय १६ रनको योगफल खडा गरेको थियो ।

क्यानडाका ओपनर स्पुर्सले ६६ बलमा १४ चौका र तीन छक्कासहित अविजित एक सय आठ रन बनाए । यस्तै अर्का ओपनर रियान पठानले ४४ बलमा नौ चौका र दुई छक्कासहित ७३ रन बनाए । यसबाहेक, कप्तान नभनित धनिवालले अविजित २६ रन बनाए ।

फिलिपिन्सका हुजैफा मोहम्मदले एक विकेट लिए ।

समूह ‘बी’ नेपाल, फिलिपिन्स, क्यानडा र ओमान छन् ।