मंसिर १९, २०८२ शुक्रबार | १८:५०:१९
जित्नैपर्ने खेलमा लुम्बिनीलाई जनकपुरको सामान्य लक्ष्य साफ महिला क्लब च्याम्पियनसिपः बराबरीमा रोकिए कराँची र ट्रान्सपोर्ट लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै जनकपुर, कप्तानको जिम्मेवारी लोफ्टी इटनलाई राखेप सदस्यसचिव मेहताले गरे पदभार ग्रहण बालगोपाल आर्मीको प्रशिक्षक सुदूरपश्चिम क्वालिफायरमा, चितवनको प्लेअफ सम्भावना संकटमा अस्ट्रेलियामा रुटको पहिलो सतक, पहिलो दिन इङल्यान्डले बनायो ३२५/९ जित्नैपर्ने खेलमा चितवनको खराब सुरुआत अर्जुनधारा महिला भलिबलमा पुलिसको जित, एपिएफ सेमिफाइनलमा चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य जित्नैपर्ने खेलमा लुम्बिनीलाई जनकपुरको सामान्य लक्ष्य साफ महिला क्लब च्याम्पियनसिपः बराबरीमा रोकिए कराँची र ट्रान्सपोर्ट लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै जनकपुर, कप्तानको जिम्मेवारी लोफ्टी इटनलाई राखेप सदस्यसचिव मेहताले गरे पदभार ग्रहण बालगोपाल आर्मीको प्रशिक्षक सुदूरपश्चिम क्वालिफायरमा, चितवनको प्लेअफ सम्भावना संकटमा अस्ट्रेलियामा रुटको पहिलो सतक, पहिलो दिन इङल्यान्डले बनायो ३२५/९ जित्नैपर्ने खेलमा चितवनको खराब सुरुआत अर्जुनधारा महिला भलिबलमा पुलिसको जित, एपिएफ सेमिफाइनलमा चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य
शनिबारको दिन गौरीमान राई

समृद्ध मछिन्द्र, फेरिएको मछिन्द्र

साँच्चै, मछिन्द्रबारे त्यस्ता कथा पनि छन्, जसलाई सुनाउन सकिन्न । मछिन्द्रबारे त्यस्ता गीत पनि छन्, जसलाई गाउन सकिन्न । मछिन्द्रबारे अलिक पछाडि गएर इतिहास के पल्टाउनुपर्छ तिनै कथा र गीत पाइने छन् । तय छ, मछिन्द्रलाई आफ्नो इतिहासका केही पानाबारे पक्कै गर्व रहने छैन ।

यी त भए पुरानै कुरा । कतिमात्र पुराना कुरा सम्झेर गनगन गरिरहने ? क्लबका अहिलेका अध्यक्ष सुनील कपाली पनि भन्ने गर्छन् । त्यो पनि मुसुक्क हाँसेर, ‘भुलौं पुराना कुरा ।’

पुराना दिनतिर उनी नै क्लबका अध्यक्ष थिए । अचेल मछिन्द्र फेरिएको छ । त्यसैले समृद्ध पनि छ । त्यो भनेको अहिलेको मछिन्द्र । मछिन्द्रले सहिद स्मारक लिग ‘ए’ डिभिजन ०७८ भर्खरै जित्ने निश्चित भएको छ । त्यो पनि दुई चरणको खेलअघि नै ।

दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्रले सातदोबाटो युथ क्लबलाई हराएपछि तय भएको थियो, अब यो टिमलाई कसैले उछिन्ने छैन, चाहे नतिजाजस्तै होस् । अब त औपचारिकता मात्र न बाँकी हो । सायद लिगको अन्तिम खेलमा मछिन्द्रले ट्रफी उचाल्ने छ ।

खेलाडीले पदक थाप्नेछन् अनि समर्थकबीच नारा लाग्नेछ, ‘वल वल मछिन्द्र’ अर्थात् ‘आयो आयो मछिन्द्र’ ।

यसपल्टको उपाधि यात्रा भने सानदार रहेको छ, कसैले प्रश्न गर्न सक्ने ठाउँ छैन । न त दुई वर्षअगाडि जितेको उपाधिमा कुनै शंका थियो । मछिन्द्रले पहिलोपल्ट माथिल्लो डिभिजनको उपाधि जितेको दुई वर्ष दुई दिनपछि त्यसको रक्षा गरेको छ । यो नै खास हो । भनिन्छ, लिग उपाधि जित्नु आफैंमा गाह्रो त छ नै । त्यसलाई रक्षा गर्नु झन पो गाह्रो ।

मछिन्द्रको टिम पनि आफैंमा राम्रो छ । स्टार खेलाडीको बडो राम्रो जमघट छ त्यहाँ । जति बेला मछिन्द्रले यताउताबाट बटुलेर स्टार खेलाडीको टिम बनाएको थियो । आरोप लागेको थियो, राम्रा खेलाडी जम्मा गर्दैमा कहाँ उपाधि जित्न सकिन्छ र ? भनिन्छ पनि पैसाले सफलता किन्न सकिन्न । तर मछिन्द्रले राम्रा खेलाडीमात्र जम्मा गरेन, पैसामात्र बगाएन, सफलता पनि चुमेर देखायो । तर यसका लागि लिगको अन्तिम दिनसम्म कुर्नुपरेको थियो ।

आर्मी क्लबविरुद्धको अन्तिम खेलमा मछिन्द्रलाई जितबाहेक अर्काले सुख दिने थिएन । विकास खवास पनि अभाग्यशाली खेलाडी रहे । तिनले मछिन्द्रलाई आत्मघाती गोलको उपहार दिए । भन्नेले जे पनि भन्छन् । सुन्न पाइयो, यस्तो पनि के जित हो र ?

अब तिनैलाई भन्न कर लागेको छ, लिग जितोस् त मछिन्द्रले जस्तो । साँच्चै मछिन्द्रले यसपल्टको लिग कसरी यति सजिलै जित्यो होला ? टिममा स्टार खेलाडीले यसपल्ट एक ढिक्का भएर खेले ।

कप्तान सुजल श्रेष्ठले भने जस्तै यस्तो टिम एकता यस अगाडि कतै देखिएको थिएन ।

लगभग टिमका सबै खेलाडीले राम्रो खेले । व्यक्तिगत कुरै गर्दा विशाल श्रेष्ठ चम्के । चम्के सुनील बल पनि । विमल घर्तीमगरको पुनरागमनबारे के मात्र भन्नु र ? त्यो उत्कृष्टभन्दा माथि थियो । अनि सुजलले एकै छिनमा डिफेन्डर भएर खेले, अर्को क्षण मिडफिल्डर पनि बन्नुपर्यो । त्यतिमात्र कहाँ हो र, एकाएक फरवार्डजस्तै भएर खेले । सुजलको एक अनुहार, तर अनेक रूप पनि देख्न पाइयो ।

टिमका एक से एक स्टार खेलाडीमाझ बरू प्रशिक्षक प्रवेश कुटवालको उचाइ नै होचो देखियो । तर यिनै प्रशिक्षकले एकपल्ट होइन, लगातार दुईपल्ट ती सारा स्टार खेलाडीलाई एकै स्थानमा राखे, तिनलाई राम्रो खेल्न प्रेरित राखे । उनी बोल्दा छिनछिनमा ‘पक्कै’ भन्ने शब्द बारम्बार दोहोर्याउँछन् । हामी पनि भन्छौं, ‘पक्कै’ उनले राम्रो गरेका छन् । त्यसैले त मछिन्द्रले उपाधि जित्नेक्रममा लिगको ११ औं चरणसम्म आइपुग्दा कुनै पनि खेल गुमाएन ।

खेलमात्र नगुमाएको होइन, पछिल्ला १० खेलमा कुनै गोल पनि खाएको छैन । वास्तवमै यो यस्तो उपलब्धि हो, जसको अगाडि ऐतिहासिक, अद्वितीय, सनसनीजस्ता शब्द थप्दा खुबै सुहाएको सुनिनेछ ।

सायद पर्दा पछाडि रहेर अनेकथरि काम गर्ने मान्छे रहे । व्यवस्थापक अनिल श्रेष्ठ । उनको योगदानमात्र कसरी बिर्सने ? अब क्लब अध्यक्ष भएपछि तिनै कपाली दाजुको पनि त गतिलै योगदान होला । अनौपचारिक कुराकानीमै सही, लिग आयोजकसँग सोध्नुपर्छ, यसपल्ट सबैभन्दा व्यवस्थित क्लब कुन हो त ?

उत्तर आउने छ, मछिन्द्र । दुई वर्षअगाडिसम्म मछिन्द्रसँग एएफसीको ‘क्लब लाइसेन्स’ थिएन, अब त त्यो पनि छ । त्यसैले दुई वर्षअगाडि लिग जितेर पनि एएफसी कप खेल्न पाएको थिएन । अब मछिन्द्रले सानका साथ एएफसी कप पनि खेल्ने छ ।

निचोडमा भनौं, मछिन्द्र अब पहिलो जस्तो रहेन । यो फेरिएको छ, त्यसैले समृद्ध बनेको छ । पछिल्लो दुई वर्षको समयमा मछिन्द्रले जसरी आफूलाई प्रस्तुत गरेको छ । मनले भन्छ, अब ती भन्न नहुने कथा र गाउन नहुने गीत बिर्सने हो कि ?