ट्वान्टी २० विश्वकप ग्लोबल क्वालिफायर्स

विश्वकप छनोटमा नेपालको विजयी सुरुआत

काठमाडौं । सशक्त बलिङमार्फत ओमानलाई ७८ रनमा सीमित गर्दै नेपालले आइसिसी ट्वान्टी २० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा विजयी सुरुआत गरेको छ । शुक्रबार नेपालले ओमानलाई ३९ रनले पराजित गर्यो ।

ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १७ रनको योगफल तयार गरेको थियो । दोस्रो इनिङमा सामान्य मानिएको एक सय १८ रनको लक्ष्य पछ्याएको ओमानले १७ ओभर ७८ मात्रै बनाउन सक्यो ।

अपेक्षित ब्याटिङ गर्न नसकेको नेपालले कसिलो बलिङ गर्दै ‘रोड टु’ अस्ट्रेलियाको सुखद् सुरुआत गरेको छ ।

ओमानलाई सस्तैमा समेट्न नेपालका लागि लगभग सबै बलरले किफायती बलिङ गरे । कमलसिंह ऐरीले आफ्नो कोटाको पूरा ४ ओभर बलिङ गरेर सर्वाधिक ३ विकेट लिन १५ रन मात्रै खर्चिए ।

यस्तै, दीपेन्दसिंह ऐरीले चार ओभरमा १५ रन खर्चेर दुई विकेट लिए । कप्तान सन्दीप लामिछानेले पनि समान चार ओभरमा २० खर्चेर एक विकेट लिँदा जितेन्द्र मुखिया र अविनाश बोहराले एक÷एक विकेट लिए ।

ओमानका लागि विकेटकिपर–ब्याटर नशीम खुशीले सर्वाधिक २४ बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । नशीमले १८ बलमा एक चौका र दुई छक्कासमेत प्रहार गरेका थिए ।

ओमानका अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पहिलो इनिङमा ब्याटिङ गरेको नेपालका लागि मध्यक्रममा ब्याटर आरिफ शेखले ३८ रन बाहेक अन्य ब्याटरको प्रदर्शन उल्लेखनीय रहेन । आरिफले ३७ बलमा दुई चौकासमेत प्रहार गरेका थिए ।

नेपालले २.४ ओभरमा दुवै ओपनरलाई गुमाइसकेको थियो । त्यसपछि साझेदारी कायम गर्न नसक्दा नेपालले ठूलो योगफल बनाउन सकेको थिएन । यद्यपि, बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै छनोटको उत्कृष्ट सुरआत गर्न नेपाल सफल भयो ।

ओमानमा जारी यो छनोटबाट दुई टोलीले अस्ट्रेलियामा हुने विश्वपमा स्थान बनाउने छन् । नेपाल समूह एमा ओमान, क्यानडा र फिलिपिन्स परेका छन् ।

समूह चरणबाट शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । र, सेमिफाइनलबाट फाइनल तय गर्ने दुुई टोलीले विश्वकपमा स्थान बनाउने छन् । नेपालले छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा शनिबार फिलिपिन्सको सामना गर्नेछ ।