सिराहा जिल्ला क्रिकेट

सिराहा जिल्ला क्रिकेट संघको चुनाव रोक्न राखेपको निर्देशन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सिराहा जिल्ला क्रिकेट संघको माघ १७ गते हुने तय भएको निर्वाचन तत्कालका लागि रोक्ने निर्देशन दिन नेपाल क्रिकेट संघ (क्यान)लाई पत्राचार गरेको छ ।

सिराहा जिल्लाका १२ जना खेलाडीले जिल्ला क्रिकेट संघका अध्यक्ष सुनिलकुमार महासेठले मनोमानी गरेको र कार्यसमितिमा योग्यता नभएका व्यक्तिहरुलाई सदस्यता वितरण गरी मनोमानी ढङ्गले निर्वाचित गराएको आरोप लगाउँदै  पुस २८ गते महासेठले वितरण गरेको सदस्यताको छानविनका लागि  निवेदन दिएका थिए । यद्यपि, जिल्ला क्रिकेट संघको चार वर्षे कार्यकाल पूरा भइसकेकाले क्यानले निर्वाचन गर्न निर्देशन दिइसकेको छ ।

यद्यपि, वर्तमान अध्यक्ष महासेठले सिराहा बजारमा मात्रै सदस्यता वितरण सीमित गर्दै अन्तर्राष्ट्रिय खेलाडीलाईसमेत सदस्यता नदिएर चुनाव गर्न लागेकाले त्यसलाई रोकेर आवश्यक छानविन गर्न उनीहरूले माग गरेका थिए ।

सोही निवेदन बमोजिम छानविन गरी सदस्यता वितरणको विवरण उपलब्ध गराउन र यो विषयको टुङ्गो नभइन्जेल निर्वाचन रोक्न राखेपको संघ संस्था समन्वय शाखाले क्यानलाई पत्राचार गरेको हो ।