भारत र दक्षिण अफ्रिका शृंखला

नर्टजीले भारतविरुद्धको शृंखला गुमाउने

सेन्चुरियन । दक्षिण अफ्रिकाका तीब्र गतिका बलर एनरिक नर्टजीले चोटका कारण भारतविरुद्धको टेस्ट शृंखला गुमाउने भएका छन् ।

क्रिकेट दक्षिण अफ्रिकाले नर्टजी चोटका कारण अनुपस्थित हुने पुष्टी गरेको छ । तर २० सदस्यीय टोलीमा उनको सट्टा अर्को कुनै खेलाडीको नाम घोषणा गरिएको छैन ।

२८ वर्षे नर्टजी पछिल्लो समय सबै स्वरुपको क्रिकेटमा दक्षिण अफ्रिकाका मुख्य बलरको रुपमा रहँदै आएका छन् । कागिसो रावाडाको मुख्य विकल्पको रुपमा रहँदै आएका नर्टजी लगातार चोटका कारण पीडित भइरहेका छन् ।

यो वर्ष उनी १२ मध्ये पाँच टेस्टमा मात्र मैदान उत्रिन सके । दक्षिण अफ्रिकाका लागि उनी पछिल्लो पटक टेस्ट क्रिकेटमा वेस्ट इन्डिजविरुद्ध जुनमा मैदानमा देखा परेका थिए ।

वेस्ट इन्डिज भ्रमणमा दक्षिण अफ्रिकाले दुई टेस्टको शृंखलामा २–० को जित हासिल गर्दा नर्टजीले आठ विकेट लिएका थिए ।

भारतविरुद्धको शृंखलामा नर्टजी अनुपस्थित हुने भएपछि डुवाने ओलिभरको अन्तर्राष्ट्रिय पुनरागमन हुन सक्नेछ । ओलिभरले पछिल्लो पटक दक्षिण अफ्रिकाका लागि २०१९ मा टेस्ट खेलेका थिए ।

भारत र दक्षिण अफ्रिकाबीच यही डिसेम्बर २६ मा तीन टेस्टको शृंखला सुरु हुनेछ । त्यसपछि दुई टोलीबीच तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेलको शृंखला हुनेछ ।

पहिलो टेस्ट सेन्चुरियनमा डिसेम्बर २६, दोस्रो टेस्ट जोहानेसबर्गमा जनवरी ३ तथा तेस्रो टेस्ट केप टाउनमा जनवरी ११ मा सुरु हुनेछ । यसैगरी जनवरी १९ मा पहिलो एकदिवसीय अतर्राष्ट्रिय खेल पारीमा हुनेछ भने त्यसको दुई दिनपछि त्यही मैदानमा दोस्रो एकदिवसीय खेल हुने तालिका छ । यसैगरी अन्तिम खेल केप टाउनमा जनवरी २३ मा हुनेछ ।

दक्षिण अफ्रिकी टोली ः
डिन एल्गर (कप्तान), टेम्बा बाभुमा (उपकप्तान), क्विन्टन डी कक (विकेटकिपर), कागिसो रावाडा, सरेल इर्वी, बेउरान हेन्ड्रिक्स, जर्ज लिन्डे, केशव महाराज, लुंगी एनगिडी, एडेन मार्कराम, वियान मल्डर, किगान पिटरसन, रेसी भान डर डुसान, काइल भेरेनी, मार्को जेन्सन, ग्लेन्टन स्टरम्यान, प्रेनेलान सुब्रायेन, सिसान्डा मागाला, रायन रिकेल्टन, डुआने ओलिभर