अन्तर्राष्ट्रिय एकदिवसीय शृंखला

‘क्लिन स्विप’बाट जोगियो न्युजिल्यान्ड

काठमाडौं । कप्तान सोफी डेविनको शतकप्रेरित न्युजिल्यान्डले इङ्ल्यान्डविरुद्ध महिला अन्तर्राष्ट्रिय एकदिवसीय शृंखलाको तेस्रो तथा अन्तिम खेलमा सात विकेटको जित दर्ता गरेको छ ।

जितसँगै घरेलु टोली न्युजिल्यान्ड ‘क्लिन स्विप’ बाट जोगिएको छ । अन्तिम खेलमा पराजित भए पनि तीन खेलको शृंखला भने इङ्ल्यान्डले २-१ ले आफ्नो पक्षमा पार्यो । यसअघि इङ्ल्यान्ड चार विकेट र ५६ रनले विजयी भएको थियो ।

ह्यामिल्टनस्थित सेडन पार्कमा आइतबार इङ्ल्यान्डले प्रस्तुत गरेको १९५ रनको लक्ष्य न्युजिल्यान्डले ३९ ओभरमा तनि विकेट गुमाउँदै पूरा गर्यो ।

न्युजिल्यान्डका लागि सोफी डेविनले ९३ बलमा ११ चौका र चार छक्काको मद्दतले अविजित १०० रनको योगदान गरिन् । यसैगरी म्याडी ग्रिनले अविजित ३८ र एमेलिया केरले ३१ रन बनाए ।

डेविनले चौथो विकेटका लागि ग्रिनसँग अविजित १०५ र तेस्रो विकेटकाल लागि केरसँग ७६ रनको साझेदारी गरिन् । इङ्ल्यान्डका लागि केट क्रस, नटाली स्क्रिभर ब्रन्ट र सोफी एक्लेस्टोनले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको इङ्ल्यान्डले ४६.३ ओभरमा सबै विकेट गुमाउँदै १९४ रनको योगफल तयार पार्यो ।

इङ्ल्यान्डका लागि एमी जोन्सले ५२ बलमा ६ चौकाको मद्दतले सर्वाधिक ५० रनको योगदान गरिन् । यसैगरी चार्ली डिनले ३८, कप्तान हेदर नाइटले ३१, नटाली स्क्रिभर ब्रन्टले २७ र माइया बोउचियरले १९ रन बनाए ।

छैटौं विकेटका लागि जोन्स र डिनले ७३ तथा तेस्रो विकेटका लागि नाइट र ब्रन्टले ५८ रनको साझेदारी गरे । युजिल्यान्डका लागि जेस केर र हाना रोवीले समान दुई, एमेलिया केरले दुई तथा सुजी बेट्सले एक विकेट लिए ।