एसएमएस फ्रेन्डसिप कप

गुजरातविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । एसएमएस फ्रेन्डसिप कप ट्वान्टी २० क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले घरेलु टोली गुजरात क्रिकेट संघविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

गुजरातको वापीस्थित साई मेघपन स्पोर्टसलाइफ मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर ब्याटिङको निर्णय लिए ।

नेपाल गुजरातमाथि ह्याट्रिक जित निकाल्दै च्याम्पियन बन्ने लक्ष्यमा छ । लिग चरणमा नेपालले गुजरातलाई आठ विकेट र आठ रनले पराजित गरेको थियो ।

यसैगरी बरोडा क्रिकेट संघलाई २७ रन हराएको नेपाल लिग चरणको अन्तिम खेलमा भने बरोडासँगै ३७ रनले निरास बनेको थियो । यता गुजरात बरोडालाई पाँच विकेट र ५७ रनले पराजित गर्दै फाइनल पुगेको हो

नेपालले आज चार परिवर्तन गरेको छ । पछिल्लो खेलमा विश्राम पाएका कप्तान रोहितकुमार पौडेल, सोमपाल कामी, अविनाश बोहोरा र आशिफ शेख टोलीमा फर्किएका छन् । आकाश चन्द, प्रतिश जिसी, अनिल शाह र ललित राजवंशीलाई बेन्चमा राखिएको छ ।

नेपाली टोलीः

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दिप जोरा, विवेक यादव, गुलसन झा, करन केसी, सोमपाल कामी, अविनाश बोहोरा