इन्डियन प्रिमियर लिग

लखनउले पन्जाबलाई हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा शनिबार घरेलु टोली लखनउ सुपर जाएन्ट्सले पन्जाब किंगलाई २१ रनले पराजित गरेको छ ।

जितसँगै लखनाउले दुई खेलमा दुई अंक जोडेको छ । पराजित पन्जाबको तीन खेलमा दुई अंक नै छ ।

लखनउले प्रस्तुत गरेको २०० रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभर नै ब्याटिङ गरे पनि पाँच विकेट गुमाउँदै १७८ रन मात्र बनाउन सक्यो । पन्जाब लागि कप्तान शिखर धवनले ५० बलमा सात चौका र तीन छक्काको मद्दतले सर्वाधिक सर्वाधिक ७० रनको योगदान गरे ।

यसैगरी जोनी बेयरिस्टोले ४२, लियम लिभिङ्स्टोनले २८ र प्रभसिम्रन सिंहले १९ रन बनाए ।

पहिलो विकेटका लागि धवन र बेयरिस्टोले १०२ रनको साझेदारी गरे । लखनउका लागि ‘डेब्यू’ गरेका लागि मयंक यादवले तीन तथा मोहसिन खानले दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको लखनउले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १९९ रनको योगफल तयार पार्यो । लखनउका लागि क्विनटन डीककले ३८ बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५४ रनको योगदान गरे ।

यसैगरी क्रुनाल पाण्ड्याले अविजित ४३, आज कप्तानी गरेका निकोलस पुरनले ४२, मार्कश स्टोइनिसले १९ र केएल राहुलले १५ रन बनाए ।

पन्जाब लागि साम  करनले  तीन, अर्शदीप सिंहले दुई तथा कागिसो रबाडा र राहुल चहरले  समान एक विकेट लिए ।