इन्डियन प्रिमियर लिग २०२४

राजस्थानको लगातार दोस्रो जित

काठमाडौं । खेल जित्न दिल्ली क्यापिटल्सलाई अन्तिम ओभरमा १७ रन चाहिएको अवस्थामा अवेस खानले चार रन मात्रै खर्चिएपछि राजस्थान रोयल्सले १२ रनको जित निकालेको छ । यससँगै राजस्थानले इन्डियन प्रिमियर लिग (आईपिएल) मा लगातार दोस्रो जित निकाल्दै दोस्रो स्थानमा रहेको छ ।

राजस्थानले सुरुवाती ब्याटिङ गर्दै पाँच विकेट गुमाएर एक सय ८६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर मात्र एक सय ७३ रन बनाउन सकेको हो ।

राजस्थानले पहिलो खेलमा लखनउ सुपर जायन्ट्सलाई २० रनले हराएको थियो । दिल्लीको भने लगातार दोस्रो हार हो । पहिलो खेलमा पञ्जाव किङ्ससाग ४ विकेटले पराजित भएको थियो ।

लक्ष्य पछ्याएको दिल्लीको लागि ओपनर डेविड वार्नरले ४९ र त्रिस्टन स्टब्सले ४४ रन बनाएका थिए । मिचेल मार्सले २३ र कप्तान रिसभ पन्तले २८ रनको योगदान गरेका हुन् । वार्नर र पन्तबीच तेस्रो विकेटको लािग ६७ रनको साझेदारी भएपनि टोलीको हार टार्न सकेनन् ।

राजस्थानको लागि नान्दे्र बर्गर र युजभेन्द्र चाहलले समान दुई विकेट लिए । आवेसले एक विकेट हात पारेका हुन् ।

यसअघि टस हारेर ब्याटिङ गरेको राजस्थानको लागि रियान परागले ४५ बलमा सात चौका र ६ छक्कासहित अविजित सर्वाधिक ८४ रन जोडेका थिए । यसबाहेक रविचन्द्रन आश्विन, ध्रुव जुरेलले २० रनको योगदान गरे ।