ट्वान्टी २० विश्वकप

बाबर आजम : विश्व क्रिकेटले पाएको विशेष उपहार

दुबई । सोएब अख्तरलाई नेट अभ्यासमा कडा सट प्रहार गरेर उनले १५ वर्षको उमेरमै क्षमता प्रमाणित गरिसकेका थिए । तीनै फुच्चे ब्याटर अहिले ट्वान्टी २० विश्व वरियताको शीर्ष स्थानमा छन् । अझ विश्वकप सुपर १२ को पहिलो खेलमा चिर प्रतिद्वन्द्वी भारतमाथि जित हासिल गर्दा आफै उच्च प्रदर्शनका साथै चुस्त रणनीति बुनेर राष्ट्रिय नायकमा परिणत भएका छन् ।

भारतमाथि १० विकेटको रवाफिलो जित हासिल गरेको खेललगत्तै एक कमेन्टेटरले पाकिस्तानी कप्तान बाबर आजमलाई १६औं सताब्दीमा पूरा भारतवर्षमाथि जित हासिल गर्दै मुगल साम्राज्य स्थापना गर्ने जाहिरुदिन बाबरसँग तुलना गरे ।

पाकिस्तानका लागि भाग्यको कुरा मान्नुपर्छ, २७ वर्षे कप्तान बाबर आजमको खुट्टा भारतमाथिको जितपछि झन दरिलोसँग भुईमा अडिएको छ । सुपर १२ अन्तर्गत समूह दूईका सबै पाँच खेलमा जित हासिल गर्दै पाकिस्तानले बिहीबार दुबईमा अस्ट्रेलियाविरुद्ध सेमिफाइनल भिडन्त पक्का गरेको छ ।

पाकिस्तानलाई पाँच खेलमा पाँच जित दिलाउन कुसल रणनीतिकारको भूमिका निर्वाह गरेका बाबरले आफ्नो ब्याटलाई पनि पूर्ण रुपमा न्याय गरे । पाँच खेलमा उनको ब्याटबाट दुई सय ६४ रन बनिसकेको छ । जुन प्रतियोगितामा अहिलेसम्म कुनै पनि ब्याटरले बनाएको उच्च स्कोर हो ।

आइतबार स्कटल्यान्डविरुद्ध सम्पन्न समूह चरणको अन्तिम खेलमा बाबरले प्रतियोगितामा चौथो व्यक्तिगत अर्धसतक पूरा गरे । जुन भारतविरुद्ध बनाएको असाधारण ६८ रनबाट सुरु भएको थियो । त्यो इनिङमा ओपनिङ पार्टनर मोहम्मद रिजवानले अविजित ७९ रनको सनसनीपूर्ण प्रदर्शन गरेपछि पाकिस्तान विश्वकपमा चिर प्रतिद्वन्द्वी भारतविरुद्ध खेलिएका १३ खेलमा पहिलो जित हासिल गर्न सफल भएको थियो ।

बाबरले त्यसपछि अफगानिस्तानविरुद्ध ५१ रन बनाए । नामिबियामाथि जित हासिल गर्दा ७० रनको इनिङ खेलेपछि अन्तर्राष्ट्रिय ट्वान्टी २० वरियतामा शीर्ष स्थानमाथि पकड कायम राख्न उनी सफल भएका थिए ।

‘पक्कै पनि यो गौरव गर्न लायक समय हो,’ बाबरलाई उद्यृत गर्दै अन्तर्राष्ट्रिय समाचारहरुमा उल्लेख गरिएको छ, ‘लक्ष्यप्रतिको एकाग्रता र त्यसका लागि गरिएको मिहिनेतको फल हो यो । म प्रत्येक दिन आफूलाई थप सुधार्दै लान चाहन्छु ।’

यसै वर्ष अप्रिलमा बाबरले एकदिवसीय अन्तर्राष्ट्रिय ब्याटिङ वरियतामा तीन वर्षदेखि कब्जा जमाएर बसेका तत्कालिन भारतीय कप्तान विराट कोहलीलाई स्थानान्तरण गरेका थिए । दक्षिण अफ्रिकामाथि २–१ को जित हासिल गरेको तीन खेलको शृंखलामा बाबरले १०३, ३२ र ९४ रनको इनिङ खेल्दै एकदिवसीय ब्याटिङ वरियतामा कोहलीको राज अन्त्य गरेका थिए ।

खासमा बाबरको क्रिकेट करियर १३ वर्षको उमेरमा टुसाएको थियो । लाहोरको गद्धाफी रंगशालामा बल ब्वाइको काम गरिरहँदा २००७ को अक्टोबरमा दक्षिण अफ्रिकाका जेपी डुमिनीले प्रहार गरेको एउटा छक्का उनले निक्कै आत्मविश्वासका साथ समातेका थिए ।

स्लो मोसन रिप्लेमा टेलिभिजन कमेन्टेटरहरुबाट लङ अनमा प्रहार गरिएको त्यो छक्कामा बाउन्ड्री बाहिर उनले लिएको क्याचले निक्कै प्रशंसा पायो । जसले बाबरको जीवनलाई पनि आश्चर्यजनक रुपमा नयाँ मोड दियो ।

पक्कै पनि बाबर आफैमा प्रचुर क्षमता थियो । तर त्यसलाई प्रष्फुटन हुनका लागि त्यो क्षणले ठूलो भूमिका खेल्यो । अझ ठूलो भूमिका उनको पिताको थियो । बाबरका अनुसार उनी त्यो क्याच समाउन सक्षम हुनुको पछाडि उनका पिता आजम सिद्धिकीको भूमिका छ ।

‘मलाई एउटा क्रिकेटरको रुपमा अगाडि बढाउन मेरो बुबाको ठूलो योगदान छ । उहाँले मलाई खेलाडी बन्नका लागि सधै प्रेरित गरिरहनुभयो,’ बाबरले भने, ‘इमान्दार भएर भन्ने हो भने अहिले पनि मैले नराम्रो खेलेको दिन वा कुनै खराब सट खेलेको दिन उहाँ मलाई गाली गर्नुहुन्छ ।’

बाबरका स्ट्रोकप्लेले १५ देखि १९ वर्षसम्मको उमेर समूहमा सबैको ध्यान तानिसकेको थियो । पाकिस्तानका पूर्व ओपनर मुदासर नाजर १९९९ मा राष्ट्रिय क्रिकेट एकेडेमीको प्रमूख हुँदा उनी बाबरको क्षमताबाट कायल नै भएका थिए । बाबरको क्षमता सही उमेरमै पहिचान गरेपछि उनैले ती १५ वर्षको फुच्चेका लागि अन्तर्राष्ट्रिय क्रिकेटको राजमार्ग देखाएका थिए ।

‘म १५ वर्षमुनिको क्याम्पमा थिएँ । एक दिन राष्ट्रिय टिमले हामीलाई अभ्यासका लागि निम्तो दियो । त्यो अभ्यासमा मुदासर सरले मलाई सोएब अख्तरको बल फेस गर्न छान्नुभयो,’ बाबरले सम्झिए ।

रावलपिन्डी एक्सप्रेसको उपनामले प्रख्यात सोएब अख्तर तिनै बलर हुन जसले २००३ को विश्वकपमा १६१.३ किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गरेर सर्वाधिक तिब्र गतिको कीर्तिमान राखेका थिए ।

‘नेटमा मलाई ब्याट समातेर उनलाई फेस गर्न तयार देखेर सोएब अचम्ममा परे । तर पनि उनले मलाई प्रोत्साहित गरे । उनले मलाई बाबु मैले फालेको बल तैले बल डिफेन्ड गर्नुपर्छ भने । तर दुई÷तीन बलपछि मैले उनको बलमा सट खेलेँ । त्यसपछि उनी रिसाए र नयाँ बल मागेर बाउन्सर फाले । मैले बसेर त्यो बाउन्सर छोडिदिएँ । त्यसपछि छेउमा बसेर हेरिरहनुभएका मुदासर सरले मलाई फिर्ता बोलाउनुभयो,’ सोएब अख्तरलाई पहिलो पटक फेस गर्दाको बाबरको स्मरण यस्तो छ ।

अहिले सबैखाले क्रिकेटबाट संन्यास लिइसकेका सोएबले गत वर्ष बाबरसँगको त्यो भेट स्मरण गरेका थिए ।

‘उ त्यतिबेला प्रतिभाशाली थियो, अहिले पनि प्रतिभाशाली छ । त्यो उमेरमा बाबरले मलाई नेटमा निर्भयतापूर्वक सामना गरेको थियो,’ सोएबले भनेका थिए ।

पाकिस्तान सुपर लिगमा बाबरलाई प्रशिक्षित गरेका अस्ट्रेलियाका पूर्व अलराउन्डर टम मुडीको विचारमा बाबर आजम भविश्यमा भारतका पूर्व ट्वान्टी २० कप्तान विराट कोहलीभन्दा ठूलो स्टार बन्नेछन् ।

‘कोहली पक्कै पनि निक्कै राम्रा खेलाडी हुन् । तर बाबर आजमको ब्याट हेर्नुस तपाईले त्योभन्दा राम्रो क्षमता देख्नुहुनेछ । बाबरलाई म कोहलीकै दर्जामा राख्न चाहन्छु । कोहलीलाई ब्याटरको रुपमा हेर्दा दर्शकलाई निक्कै आनन्द महशुष हुन्छ,’ मुडीले गत वर्ष भनेका थिए, ‘तर कोहलीलाई हेर्न आनन्द आउँछ भन्नेले बाबरलाई पनि हेर्नुपर्छ । मेरो विचारमा बाबरलाई हेर्न झनै बढि आनन्द आउँछ । उनी विश्व क्रिकेटले पाएको एउटा विशेष उपहार हुन् ।’