आइसिसी विश्वकप क्रिकेट लिग-२

लगातार दोस्रो जितको लक्ष्यमा नेपाल

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक शृंखालाको आफ्नो तेस्रो खेलमा बुधबार नाबियाको सामना गर्दा नेपालको लक्ष्य लगातार दोस्रो जित निकाल्नु हुनेछ ।

खेल कीर्तिपुर त्रिवि क्रिकेट मैदान बिहान ९ः३० बजे सुरु हुनेछ ।

पहिलो खेलमा नामिबियासँग चार विकेटले पराजित नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्समाथि नौ विकेटको सहज जित निकालेको थियो ।

रोहितकुमार पौडेलको कप्तानीमा मैदान उत्रिने नेपालाई कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, दीपेन्द्रसिंह ऐरी जस्ता खेलाडीको साथ रहनेछ ।

यता जोर्रार्ड इरास्मसको कप्तानीमा रहेको नामिबिया पनि दोस्रो जित निकाल्ने सोचमा छ । पछिल्लो खेलमा नाबिया नेदरल्यान्ड्ससँग सात विकेटले पराजित भएको थियो ।

नामिबिया रुबेन ट्रम्पलम्यान, जेजे स्मिथ, बेर्नार्ड  स्कोल्ट्ज, निकोलस डाभिन जस्ता खेलाडीका साथ मैदान उत्रिनेछ ।

नामिबिया र नेपालबीच हालसम्म सात अन्तर्राष्ट्रिय एकदिवसीय खेल भएका छन् । जसमा नामिबिया चार र नेपाल दुई खेलमा विजयी हुँदा एक खेल नतिजाविहिन बनेको छ ।

सन् २०२२ मा भएका चारमध्ये तीन खेलमा नामिबिया विजयी हुँदा एक खेल नतिजाविहिन बनेको थियो । जुलाई ११ मा भएको पहिलो भेटमा नामिबिया ४० रनले विजयी भएको थियो । १६ जुनाईमा पनि नामिबियाले ६३ रनको जित निकालेको थियो ।

डिसेम्बर २ मा तय भएको खेल वर्षका कारण हुन नसक्दा डिसेम्बर ७ मा नामिबिया ८६ रनले विजयी भएको थियो ।

यसैगरी सन् २०२३ का दुई भेटमा भने नेपाल विजयी भयो । नेपालले फेब्रुअरी १४ मा दुई तथा फेब्रुअरी १८ मा तीन विकेटको जित निकालेको थियो ।