प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रयितोगिता

कर्णालीले एपिएफलाई हरायो

काठाडौं ।  कर्णाली प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रयितोगितामा विभागीय टोली नेपाल एपिएफ क्लबमाथि २१ रनको जित निकालेको छ ।

जितसँगै प्रतियोगिताको सुखद सुरुआत गरेको कर्णालीले नौ खेलमा आठ अंक जोड्यो । यसैगरी पराजित एपिएफको समान खेलबाट १० अंक रह्यो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार कर्णालीले प्रस्तुत गरेको २ सय ७ रनको लक्ष्य पछ्याएको एपिएफ ४४ ओभरमा १ सय ८५ रनमा समेटियो ।

एपिएफका लागि आसिफ शेखले १ सय १२  बलमा १० चौका र दुई छक्काको मद्दतले सर्वाधिक १ सय ८ रनको योगदान गरे ।  यसैगरी अमरसिंह रौटेलाले अविजित २८, कप्तान रोहितकुमार पौडेलले १४ र लोकेश बमले ११ रन बनाए ।

सातौं विकेटका लागि आसिफ र अमरले ८७ रनको साझेदारी गरे कर्णालीका लागि प्रकाश जैसीले तीन ओभरमा दुई मेडनसहित नौ रन खर्चिएर चार विकेट लिए । यसैगरी दीपेन्द्र रावत र युनिस सिंहले समान दुई तथा दिनेश अघिकारीले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले ४४.१ ओभरमा सबै विकेट गुमाउँदै २ सय ६ रनको योगफल तयार पारेको थियो ।

कर्णालीका लागि हिमान्शु शाहीले ५० बलमा सात चौका र दुई छक्काको मद्दतले सर्वाधिक ६२ रनको योगदान गरे । यसैगरी अर्जुन घर्तीले तीन छक्का र एक चौकाको मद्दतले ५३,दीपेन्द्र रावतले २७,कप्तान रविन्द्र शाहीले २२, दीनेश अधिकारीले १९ र प्रकाश जैसीले १० रन बनाए ।

चौथो विकेटका लागि हिमान्शु र अर्जुनले १ सय ११ रनको साझेदारी गरे । एपिएफका लागि श्याम ढकाल (मौसम) ले नौ ओभरमा दुई मेडनसहित ३२ रन खर्चिएर तीन विकेट लिए । यसैगरी अमरसिंह रौटेलाले दुई तथा भुवन कार्की र रमेश कुर्मीले समान एक विकेट लिए ।