प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता

पुलिसको लगातार दोस्रो जित

अर्जुन साउद

काठमाडौं । कोशी प्रदेशलाई सात विकेटले स्तब्ध बनाउँदै विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

जितसँगै पुलिसले दुई खेलमा चार अंक जोड्दा लागतार तेस्रो पराजय ब्यहोरेको कोशी अंकविहिन छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार कोशीले प्रस्तुत गरेको १ सय ६७ रनको लक्ष्य पुलिसले २३.१ ओभरमा तीन विकेट गुमाउँदै भेट्टायो ।

पुलिसका लागि अर्जुन साउदले ६३ बलमा पाँच चौका र दुई छक्काको मद्दतले अविजित ६२ रनको योगदान गरे । यसैगरी कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ३८, दिलिप नाथले ३१, सुनिल धमलाले १६ र कुशल भुर्तेलले १२ रन बनाए ।

चौथो विकेटका लागि अर्जुन र दीपेन्द्रले अविजित ७३ रनको साझेदारी गरे । कोशीका लागि कमल खत्रीले दुई र सोनु मण्डलले एक विकेट लिए ।

सुजन थपलिया

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोशीले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६६ रनको योगफल तयार पारेको थियो ।

कोशीका लागि सुजन थपलियाले १ सय २६ बलमा आठ छक्का र ६ चौकाको मद्दतले सर्वाधिक १ सय ५ रनको योगदान गरे । यसैगरी अभ्यास तिमिल्सिनाले २३ र कप्तान अंकित सुवेदीले १० रन बनाए ।  

सुजनले आठौं विकेटका लागि अभ्याससँग ९९ रनको साझेदारी गरे । पुलिसका लागि करण केसीले ९.२ ओभरमा २८ रन खर्चिदै तीन विकेट लिए । यसैगरी ललितनारायण राजवंशी र सुनिल धमलाले समान दुई तथा राशिद खान, सागर ढकाल र कुशल भुर्तेलले समान एक विकेट लिए ।