गण्डकी प्रदेश छनोट

एकै खेलाडीले ९ विकेट लिएको खेलमा तनहुँ विजयी

काठमाडौं ।  सन्दीप पराजुलीको उत्कृष्ट प्रदर्शनप्रेरित तनहुँले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको गण्डकी प्रदेश छनोटमा नवलपुरमाथि १० रनको जित निकालेको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा आइतबार तनहुँले प्रस्तुत गरेको १ सय ११ रनको लक्ष्य पछ्याएको नवलपुर २४.१ ओभरमा १ सय रनमा समेटियो ।

नवलपुरका लागि गोविन्द विकले २७, प्रोमिश अर्यालले २२, विशाल पौडेलले १७ र  रिजन काफ्लेले १५ रन बनाए ।

तनहुँका लागि सन्दीप पराजुलीले ९.१ ओभरमा दुई मेडनसहित मात्र २५ रन खर्चिदै ९ विकेट लिए ।  यसैगरी दिनेशजंग बुढामगरको नाममा एक विकट रह्यो ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको तनहुँले २८.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय १० रनको योगफल तयार पारेको थियो । तनहुँका लागि कृष एरले ४१ र समिर कँडेलले १८ रन बनाए ।

नवलपुरका लागि विशाल पौडेलले तीन तथा कमल परियार र कुमार रानाले समान दुई विकेट लिए ।