प्रधानमन्त्री कप बागमती छनोट

प्रधानमन्त्री कप बागमती छनोट: ललितपुर फाइनलमा

काठमाडौं । नुवाकोटलाई आठ विकेटले स्तब्ध बनाउँदै ललितपुर प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको बागमती छनोटको फाइनल प्रवेश गरेको छ । 

मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा आइतबार नुवाकोटले प्रस्तुत गरेको १ सय ९३ रनको लक्ष्य ललितपुरले ४१ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो ।

ललितपुरका लागि कप्तान आंशुतोष घिरैया ले १ सय ६ बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक ७० रनको योगदान गरे । यसैगरी रोनिम तिवारीले ३६, दुर्गेश थापा क्षेत्रीले अविजित ३१ र आदिल खानले अविजित २७ रन बनाए ।

पहिलो विकेटका लागि आंशुतोष र रोनिमले १ सय रनको साझेदारी गरे । नुवाकोटका लागि अविषेक कोइराला र अभियान बस्नेतले समान एक विकेट लिए । 

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नुवाकोटले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै १ सय ९२ रनको योगफल तयार पारेको थियो । नुवाकोटका लागि रोशन विकले ३८, अविशेक कोइरालाले अविजित ३२, राजेश रिमालले २९, योगेश भाटले २६, अभियान बस्नेतले १८ र सुशिल साउदले अविजित १५ रन बनाए ।

ललितपुरका लागि आयुश जैसवालले तीन तथा पंकज पाण्डे, भार्गव खनाल, विपिन आचार्य र आदिल खानले समान एक विकेट लिए ।