नेपाल प्रो क्लब च्याम्पियनसिप

प्रो क्लब च्याम्पियनसिपः पुलिसले एपिएफलाई हरायो

फाइल फोटो

काठमाडौं । नेपाल प्रो क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले नेपाल एपिएफ क्लबमाथि ८९ रनको फराकिलो जित निकालेको छ ।

जितसँगै पुलिसले तीन खेलमा चार अंक जोडेको छ । पहिलो पराजय ब्यहोरेको एपिएफको दुई खेलबाट दुई अंक छ ।

वीरगंजस्थित नारायणी क्रिकेट मैदानमा आइतबार पुलिसले प्रस्तुत गरेको १ सय ४१ रनको लक्ष्य पछ्याएको एपिएफ १३.२ ओभरमा ५१ रनमै समेटियो ।

एपिएफकाम लागि कप्तान प्रदीप ऐरीले २२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पुलिसका लागि शेर मल्लले २.२ ओभरमा मात्र तीन रन खर्चिदै पाँच विकेट लिए । यसैगरी ललित नाराण राजवंशीले दुई तथा सागर ढकाल र कप्तान आरिफ शेखले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४० रनको योगफल तयार पारेको थियो ।

पुलिसका लागि दिलिप नाथले ३८ बलमा पाँच चौका र चार छक्काको मद्दतले सर्वाधिक ५६ रनको योगदान गरे । यसैगरी सुनिल धमलाले ३५ र शंकर रानाले अविजित २२ रन बनाए ।

पहिलो विकेटका लागि दिलिप र सुनिलले ९० रनको साझेदारी गरे ।  एपिएफका लागि अविनाश बोहराले तीन, रमेश कुर्मीले दुई र कमल खत्रीले एक जिकेट लिए ।