लिटल फ्लावर प्रिमियर लिग

एलपिएलः शुक्लाफाँटा र धनगढी विजयी

धनगढी । कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) मा मंगलबार शुक्लाफाँटा ब्ल्याकबक्स फाउन्डेसन र धनगढी क्रिकेट एकेडेमी विजयी भएका छन्।

शुक्लाफाँटाले कैलाली जिल्ला क्रिकेट क्लबलाई तथा धनगढीले शारदा सेकेन्डरी स्कुललाई पराजित गरे।

दिनको पहिलो खेलमा शुक्लाफाँटाले कैलालीमाथि ९० रनकाे जित निकाल्याे। समुह चरणका सबै ३ खेल खेल्दा २ जित र १ हार ब्यहाेरेकाे शुक्लाफाँटाले सेमिफाइनल सम्भावना जिवितै राखेको छ।

दुवै खेल जितेको धनगढी स्पोर्टस क्लब अन्तिम खेलमा खप्तड इन्डोरसँग पराजित भए शुक्लाफाँटा र धनगढीमध्ये नेट रन रेटमा अघि हुने टोली सेमिफाइनल पुग्नेछ।

शुक्लाफाँटाले प्रस्तुत गरेको १ सय ८४ रनको लक्ष्य पछ्याएको कैलाली १८.४ ओभरमा ९३ रनमै समेटियो ।

कैलालीका नरेन साउदले १७ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। शुक्लाफाँटाका लागि  बसन्त खत्री, भारत चन्द र निरञ्जन गौतमले समान २ विकेट तथा भारत चन्द, कैलाश ऐर, सुशील रावल र विकास ऐरले समान १ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको शुक्लाफाँटा ब्ल्याकबक्स फाउन्डेसनले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८३ रनको योगफल तयार पारेको थियो ।

शुक्लाफाँटाका लागि किरण ठगुन्नाले सर्वाधिक ४२ बलमा १० चौका र १ छक्काको मद्तले सर्वाधिक ७० रनको योगदान गरे । यसैगरी  विशाल ऐरले ४३ बलमा ६ चौका र २ छक्काको मद्दतले ५४ र लोकेश जोशीले ३७ रन बनाए।

कैलाली क्रिकेट क्लबको लागि विनोद बोहराले ३ र धर्मराज जोशीले २ विकेट लिए।

दोश्रो खेलमा धनगढी क्रिकेट एकेडेमीले शारदा सेकेन्डर स्कुललाई ८१ रनले पराजित गर्यो। धनगढीले प्रस्तुत गरेको १ सय ७१ रनको लक्ष्य पछ्याएको शारदा १५. ५ ओभरमा ८९ रनमै समेटियो । दुवै टोलीको सेमीफाइनल पुग्ने सम्भावना समाप्त भइसकेको छ ।

शारदाका लागि अभिषेक मल्लले ४१ तथा जीवन चन्दले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।  धनगढीका लागि युवराज खत्रीले ४, विजय रानाले २ तथा हिक्मत महरा, मान साउद र निरज ऐरले समान १ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको धनगढीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७० रनको योगफल तयार पारेको थियो। धनगढीका लागि मान साउदले अविजित ३७, सचिन साउदले ३५, युवराज खत्रीले अविजित २९ तथा विजय रानाले २३ रन बनाए।

आठौं विकेटका लागि मान र युवराजले अविजित ५५ रनको साझेदारी गरे।

प्रतियोगिताअन्तर्गत बुधबार पनि दुई खेल हुनेछन्। पहिलो खेलमा विहान ९ बजे क्रिकेट एक्सिलेन्स सेन्टर र जेएस स्पोर्टस ११ सुपर स्टार्स तथा दोश्रो खेलमा दिउँसो १ बजे शारदा सेकेन्डरी स्कुल र कैलाली मल्टिपल क्याम्पस प्रतिस्पर्धा गर्नेछन् ।