एसिसी यु-१९ प्रिमियर कप

यु-१९ प्रिमियर कपः नेपालको लगातार दोस्रो जित

काठमाडौं । बहराइनलाई सात विकेटले स्तब्ध बनाउँदै नेपालले एसिसी यु-१९ प्रिमियर कपमा लगातार दोस्रो जित निकालेको छ ।

लगातार दोस्रो जितसँगै समूह ‘ए’ को नेपालले सेमिफाइनल सम्भावना बलियो बनाएको छ । पहिलो खेलमा इरानमाथि २ सय ७४ रनको सानदार जित निकालेको थियो

मलेसियाको बायोमास ओभल क्रिकेट रंगशालामा आइतबार बहराइनले प्रस्तुत गरेको ७८ रनको लक्ष्य नेपालले ११.४ ओभरमा तीन विकेट गुमाउँदै भेट्टायो ।

नेपालका लागि अर्जुन कुमाल र  कप्तान देव खनालले अविजित रहँदै समान ३२ रनको योगदान गरे । चौथो विकेटका लागि अर्जुन र देवले अविजित ६८ रनको साझेदारी गरे ।

बहराइनका लागि तीनै विकेट एनेस ओबाइद सायदले लिए ।  

त्यसअघि टस जितेर ब्याटिङ रोजेको बहराइनले ३७.५ ओभरमा सबै विकेट गुमाउँदै ७७ रनको योगफल तयार पारेको थियो ।

बहराइनका लागि मोहम्मद बसिल अब्दुल हाकीमा ३४ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि दीपेश कँडेलले ९.५ ओभरमा ८ मेडनसहित मात्र ४ रन खर्चिएर ६ विकेट लिए ।  दुर्गेश गुप्तानको नाममा ४ विकेट रह्यो ।

अब नेपालले समूहको अन्तिम खेलमा कात्तिक २ मा साउदी अरेबियाको सामना गर्नेछ ।

१६ टोली सहभागी प्रतियोगिताको उत्कृष्ट तीन टोलीले पाकिस्तानमा हुने तय भएको एसिसी एसिया कपमा स्थान बनाउनेछन् ।