आइसिसी एकदिवसीय विश्वकप

एकदिवसीय विश्वकपः न्युजिल्यान्डको लगातार दोस्रो जित

काठमाडौं । नेदल्यान्ड्सलाई  ९९ रनले स्तब्ध बनाउँदै न्युजिल्यान्डले भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा लगातार दोस्रो जित निकालेको छ ।

जितसँगै दुई खेलमा ४ अंक जोडेको न्युजिल्यान्ड शीर्ष स्थानमा छ । दुवै खेलमा पारजित व्यहोरेको नेदरल्यान्ड्स अंकविहिन छ ।

हैदराबादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सोमबार न्युजिल्यान्डले प्रस्तुत गरेको ३ सय २२ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४६.३ ओभरमा २ सय २३ रनमा समेटियो ।  

नेदरल्याड्सका लागि कोलिन एकरम्यानले ७३ बलमा ५ चौकाको मद्दतले सर्वाधिक ६९ रनको योगदान गरे । यसैगरी कप्तान स्कट एड्वार्डसले ३०, सिब्रान्ड एन्जलब्रेख्तले २९, तेजा नन्दमानुरुले २१, बास डि लिडेले १८, म्याक ओ’ डोउडले १६, विक्रमजित सिंहले १२ र आर्यन दत्तले ११ रन बनाए । 


चौथो विकेटका लागि एकरम्यान र नन्दमानुरुले ५० रनको साझेदारी गरेका थिए ।

न्युजिल्यान्डका लागि मिचेल स्यान्टनरले १० ओभरमा ५९ रन खर्चिदै ५ विकेट लिए । यसैगरी म्याट हेनरीले ३ र रचिन रविन्द्रले १ विकेट हात पारे । 

त्यसअघि टस हरेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय २२ रनको योगफल तयार पारेको थियो । 

न्युजिल्यान्डका लागि विल योङ्गले ८० बलमा ७ चौका र २ छक्काको मद्दतले सर्वाधिक ७० रनको योगदान गरे । यसैगरी कप्तान टोम लाथमले ४६ बलमा ६ चौका र १ छक्काको मद्दतले ५३, रचिन रविन्द्रले ५१ बलमा ३ चौका र १ छक्काको मद्दतले ५१, ड्यारिल मिचेले ४८, मिचेल स्यान्टनरले अविजित ३६, डिभोन कोन्वेले ३२ र म्यााट हेनरीले अविजित १० रन बनाए ।

योङ्गले दोस्रो विकेटका लागि रिवन्द्रसँग ७७ र पहिलो विकेटका लागि कोन्वेसँग ६७ रन तथा चौथो किकेटका लागि लाथम र मिचेलले ५३ रनको साझेदारी गरे ।

नेदरल्यान्ड्सका लागि आर्यन दत्त, पल भान मिकरेन र रोलेफ भान डेर मार्वेले समान २ तथा बास डि लिडेले १ विकेट लिए ।

यसअघि न्युजिल्यान्डले इङ्ल्यान्डलाई ९ विकेटले पराजित गर्दा नेदरल्यान्ड्स पाकिस्तानसँग ८१ रनले स्तब्ध बनेको थियो ।