एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला

दक्षिण अफ्रिकामाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । अस्ट्रेलियाले एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा घरेलु टोली दक्षिण अफ्रिकामाथि १ सय २६ रनको सानदार जित निकालेको छ ।

योसँगै पाँच खेलको शृंखलमा अस्ट्रेलियाले २-० को अग्रता लिएको छ । पहिलो खेलमा अस्ट्रेलिया तीन विकेटले विजयी भएको थियो ।

मङ्गवान ओभल रंगशालमा अस्ट्रेलियाले प्रस्तुत गरेको ३ सय ९३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४१.५ ओभरमा २ सय ६९ रनमा समेटियो ।

दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले र डेविड मिलरले समान ४९, कप्तान टेम्बा बभुमाले ४६, क्विनटन डि ककले ४५, मार्को यानसनले २३ र रस्सी भान डेर डुसेले १७, कागिसो रबाडाले अविजित १७ र एनरिच नोर्त्जेले १० रन बनाए ।

पहिलो विकेटका लागि बाभुमा र डि ककले ८१ तथा पाँचौं विकेटका लागि क्लासेन र मिलरले ५८ रनको साझेदारी गरेका थिए ।

अस्ट्रेलियाका लागि एडम जाम्पाले चार तथा नाथन एलिस, आरोन हाड्ली र शन एबोटले समान दुई विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएकोे अस्ट्रेलियाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै ३ सय ९२ रनको योगफल तयार पारेको थियो ।

अस्ट्रेलियाका लागि मार्नस लाबुसेनलले ९९ बलमा नौ चौका र एक छक्काको मद्दतमा सर्वाधिक १ सय २४ रनको योगदान गरे । उनको यो एकदिवसीय अन्तर्राष्ट्रिय करिअरको उत्कृष्ट प्रदर्शन तथा दोस्रो शतक हो ।

यसैगरी डेविड वार्नरले ९३ बलमा १२ चौका र ३ छक्काको मद्दतमा १ सय ६, ट्राविस हेडले ३६ बलमा ९ चौका र ३ छक्काको मद्दतमा ६४, जोश इङ्लिसले ३७ बलमा सात चौका र एक छक्काको मद्दतमा ५० र नाथन एलिसले १४ रन बनाए ।

तेस्रो विकेटका लागि लाबुसेन र वार्नरले १ सय ५१ तथा पहिलो विकेटका लागि वार्नर र हेडले १ सय ९ रनको साझेदारी गरेका थिए ।

दक्षिण अफ्रिकाका लागि तबरेज शाम्सीले चार कागिसो रबाडाले दुई तथा मार्को यानसन र एन्डिले फेहलुक्वायोले समान एक विकेट लिए । शृंखलाको तेस्रो खेल मंगलबार हुनेछ ।