भारत-वेस्ट इन्डिज शृंखला

भारत वेष्ट इन्डिजसँग चार रनले पराजित

काठमाडौं । भारत वेष्ट इन्डिजसँगको पहिलो ट्वान्टी २० खेलमा चार रनले पराजित भएको छ । घरेलु मैदान तारौबामा यो जितसँगै वेष्ट इन्डिजले पाँच खेलको शृंखलामा १–० ले अगाडी रहेको हो । दोस्रो खेल आइतबार हुनेछ ।

प्लेयर अफ दि म्याच जासोन होल्डरले उत्कृष्ट प्रदर्शन गरेपछि भारत आफ्नो दुई सय ट्वान्टी २० खेलमा हार बेहोर्न बाध्य भएको हो । भारतले कप्तान रोहित शर्मा र विराट कोहलीलाई विश्राम दिएको थियो । भारतका मुकेश कुमार र तिलक बर्माले ट्वान्टी २० मा डेब्यु गरेका छन् ।

घरेलु मैदानमा वेष्ट इन्डिजले टस जितेर सुरुआती ब्याटिङ गर्दै निर्धारित २० ओभरमा एक सय ४९ रन बनाएको थियो । प्रत्युत्तरमा भारत एक सय ४५ रनमा समेटिएको थियो ।

भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमायो । डेब्यु खेलाडी तिलक बर्माले सर्वाधिक ३९ रन बनाएका थिए । सुर्यकुमार यादव २१, कप्तान हार्दिक पांड्या १९, सन्जु सामसन १२, अक्षर पटेल १३ र अर्शदी सिंहले जम्मा १२ रन बनाए । सुर्यकुमार र तिलकले सर्वाधिक ३९ रनको साझेदारी गरेका थिए ।

ओपनर इशान ६ र शुभमन गिल तीन रनमा आउन हुँदा भारत दवावमा आएको थियो । वेष्ट इन्डिजका होल्डरसँगै ओबेड म्याकोन र रोमारियो सेफर्डले समान दुई विकेट लिएका थिए ।

यसअघि वेष्ट इन्डिजले कप्तान रोभमन पावेलको ४८ र निकोलस पूरनको ४१ रन मद्धतमा सम्मानजनक स्कोर बनाएको थियो । ओपनर ब्रान्डन किङले २८ र सिमरोनले १० रनको योगदान गरेका थिए ।

पूरन र पावेल तथा हेटमायर र पावेलले समान ३८ रनको साझेदारी गरेका हुन् । भारतका अर्शदीप र युजभेन्द्र चहलले समान दुई विकेट लिए ।