एसिसी मेन्स इमर्जिङ टिम्स एसिया कप

पाकिस्तान लगातार दोस्रो पटक च्याम्पियन

काठमाडौं ।  भारत‘ए’ माथि १ सय २८ रनको फारकिलो जित निकाल्दै पाकिस्तान ‘ए’ ले एसिसी मेन्स इमर्जिङ टिम्स एसिया कपको उपाधि रक्षा गरेको छ ।

श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादासा रंगशालामा आइतबार सम्पन्न फाइनलमा  पाकिस्तानले प्रस्तुत गरेको ३ सय ५३ रनको लक्ष्य पछ्याएको भारत ४० ओभरमा २ सय २४ रनमै समेटियो ।

भारतका लागि अभिषेक शर्माले ५१ बलमा पाँच चौका र एक छक्काको मद्दतमा सर्वाधिक ६१ रनको योगदान गरे । यसैगरी कप्तान यश धुलले ३९, साई शुदर्शनले २९, रियान परागले १४, हर्षित रानाले १३, राजवर्धन  हगंगेकर र निकिन जोसेले समान ११ र निशान्त सिन्धुले १० रन बनाए ।

शर्माले पहिलो विकेटका लागि शुदर्शनसँग ६४ र तेस्रो विकेटका लागि धुलसँग ५२ रनको साझेदारी गरे ।

पाकिस्तानका लागि सुफ्यन मुकिमले तीन, अर्शद इक्बाल, मेहरन मुम्ताज र मोहम्मद वासिमले समान दुई तथा मुबासिर खानले एक विकेट लिए । 

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ३ सय ५२ रनको योगफल तयार पारेको थियो ।

पाकिस्तानका लागि तैयब ताहिरले ७१ बलमा १२ चौका र चार छक्काको मद्दतमा सर्वाधिक एक सय ८ रन बनाए । यसैगरी शाहिबजादा फरहान उल्लाहले ६२ बलमा समान चार चौका र छक्काको मद्दतमा ६२, सइम अयुबले ५१ बलमा सात चौका र एक छक्काको मद्दतमा ५९, मुबासिर खान र ओमिर बिन युसुफले समान ३५, मोहम्मद वासिमले अविजित १७ र मेहरन मुम्ताजले १३ रन जोडे ।

छैटौं विकेटका लागि ताहिर र खानले १ सय २६ तथा पहिलो विकेटका लागि उल्लाह र अयुबले १ सय २१ रनको साझेदारी गरे ।

भारतका लागि राजवर्धन  हगंगेकर र रियान परागले समान दुई तथा हर्षित राना, मानव सुतर र निशान्त सिन्धुले समान एक विकेट लिए ।

पाकिस्तानले घरेलु टोली श्रीलंका ‘ए’ लाई ६० तथा भारतले बंगलादेश ‘ए’लाई ५१ रनले हराउँदै फाइनलमा स्थान बनाएका थिए ।