आइसिसी एकदिवसीय विश्वकप छनोट

नेपालले युएईलाई हरायो

फाइल तस्बिर

 काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकप्रेरित नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत प्लेअफमा युएईमाथि ३ विकेटको जित निकालेको छ ।

अब नेपालले सातौ स्थानका लागि हुने खेलमा आयरल्यान्डको सामना गर्नेछ । युएईले नवौं स्थानका लागि अमेरिकासँग खेल्नेछ ।

जिम्बावेको हरारे स्पोर्टस क्लबमा आइतबार युएईले प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य नेपालले ४३.२ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो ।

नेपालका लागि दीपेन्द्रले ८५ बलमा ७ चौका र २ छक्काको मद्दतमा अविजित ७९ रनको योगदान गरे । यसैगरी कुशल भुर्तेलले ३५, सन्दीप लामिछानले अविजित २३ र गुल्सन झाले १२ रन बनाए ।

आठौं विकेटका लागि दीप्रेन्द्र र सन्दीपले अविजित ७९ रनको साझेदारी गरे ।

युएईका लागि मोहम्मद जवादुल्लाहले ३ र जुनैद सिद्धिकी, अली नसिर, सन्चित शर्मा र रोहन मुस्तफाले समान १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको युएईले ४६.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८१ रनको योगफल तयार पारेको थियो ।

युएईका लागि कप्तान वृत्य अरविन्दले ७५ बलमा ४ चौकाको मद्दतमा सर्वाधिक ४४ रनको योगदान गरे । यसैगरी रोहन मुस्तफाले ३५, बसिल हामिदले २९, आर्यन्श शर्माले २८, सन्चित शर्माले १२ र रामिज शहजादले १० रन जोडे ।

दोस्रो विकेटका लागि वृत्य र आर्यन्शले ६३ तथा पाँचौं विकेटका लागि रोहन र बसिलले ५८ रनको साझेदारी गरे ।

नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान ३ र प्रतिश जिसी, गुल्सन झा र दीपेन्द्रसिहं ऐरीले समान १ विकेट लिए ।