आइपिएल

चेन्नईले मुम्बईलाई हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग(आइपिएल) मा घरेलु टोली चेन्नइ सुपर किंग्सले मुम्बई इन्डियन्समाथि ६ विकेटको सहज जित निकालेको छ ।

जितसँगै ११ खेलमा १३ अंक जोडेको चेन्नई दोस्रो स्थानमा उक्लिएको छ । पराजय ब्यहोरेको मुम्बई १० खेलमा १० अंकका साथ छैटौं स्थानमा कायम छ ।

 एमए चितमबरम स्टेडियममा शनिबार मुम्बईले प्रस्तुत गरेको एक सय ४० रनको लक्ष्य चेन्नईले १७.४ ओभरमा ४ विकेट गुमाउँदै भेटटयो ।

चेन्नईका लागि  डेभोन कन्वेले ४२ बलमा चार चौकाको सहयोगमा ४५ रन बनाए । यसैगरी ऋतुराज गायकवाडले ३०, शिभम दुवेले अविजित २६ तथा अजिक्या रहाणेले २० रन जोडे ।

मुम्बईका लागि पियुष चावलाले दुई तथा आकाश मधवाल र ट्रिस्टन स्टुब्सले समान एक  विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ३९ रनको योगफत तयार पारेको थियो ।

मुम्बईका लागि निहाल वाधिराले ५१ बलमा आठ चौका र एक छक्काको मद्दतमा सर्वाधिक ६४ रन बनाए । यसैगरी सूर्यकुमार यादवले २६ र ट्रिस्टन स्टुब्सले २० रन जोडे ।  

वाधिराले यादवसँग चौथो विकेटका ५५ तथा स्टुब्ससँग पाँचौ विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए ।

चेन्नईका लागि मथिशा पथिरानाले तीन तथा दीपक चहर र तुसारदेश पान्डेले समान दुई विकेट लिए ।