मधुरो प्रकाशका कारण भैरहवा र ललितपुरले अंक बाँडे

काठमाडौं, (खेलाडी)- रोमाञ्चक खेलमा मधुरो प्रकाशका कारण भैरहवा ग्ल्याडियटर्स र ललितपुर पेट्रियट्सले एभरेस्ट प्रिमियर लिग (इपिएल) को आजको दोस्रो खेलमा अंक बाडेका छन् । 

एक सय ७८ रनको लक्ष्य पछ्याएको भैरहवाका कप्तान शरद भेषावकरले इनिङको अन्तिम बलमा छक्का प्रहार गरेपछि खेल बराबरीमा पुगे पनि मघुरो प्रकाशका कारण सुपर ओभर हुन सकेन । 

भैरहवाको ब्याटिङमा उपुल थारंगाले सर्वाधिक ६७ रन बनाए । ४४ बल सामना गरेका थरगांले ६ चौका र तीन छक्का प्रहार गरे । त्यसै कुशल मल्लले ३५ र आरिफ सेखले २८ रन जोडे । इनिङको अन्तिम बल बाँकी रहँदा मैदान प्रवेश गरेका शरदले पहिलो बलमै छक्का प्रहार गरेपछि खेल बराबरीमा पुगेको थियो । 

ललितपुरका रासिद खानले तीन र रिजन ढकालले दुई विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा खेलमा टस हारेर ब्याटिङका लागि उत्रिएको ललितपुरले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७७ रन जोडेको थियो ।

ललितपुरका सान्दुन विराकोदेले ४१ बलमा दुई चौका र पाँच छक्का मद्दतमा ५८ रन बनाए । त्यस्तै अज्मतुल्ला ओमरजाईले ४२, सन्दिप जोराले ३८ र ओसादा फर्नान्डोले २० रन जोडे ।

भैरहवाका अविनाश बोहराले दुई तथा धम्मिका प्रशाद, आरिफ शेख र कृष्ण कार्कीले समान एक विकेट लिए ।