सन्दीप लामिछाने

सन्दीपलाई विदेश जान सर्वोच्च अदालतको अनुमति

काठमाडौं । राष्ट्रिय टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई सर्वोच्च अदालतले विदेश जान अनुमति दिएको  छ ।

सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासले सोमबार धरौटीमा छाड्ने आदेश सदर गर्दै सन्दीपलाई विदेश जान समेत अनुमति दिएको हो।  

सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, अधिवक्ता सरोजकृष्ण घिमिरे, रोशनी पौडेल र रामेश्वर न्यौपानेले बहस गरेका थिए।

सरकारी वकिलको तर्फबाट महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले जवाफी बहस गरेका थिए।

महान्यायाधिवक्ता कार्यालयले माघ १७ गते सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

गत पुस २८ गते उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सन्दीप पुस २९ गते धरौटी बुझाएर थुनामुक्त भएका थिए । तर, उनलाई विदेश जान भने रोक लगाएको थियो ।

यस्तै क्रिकेट खेल्न विदेश जान पाउ भन्दै सन्दीपले दायर गरेको मुद्दामा शुक्रबार सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश ईश्वर प्रसाद खतिवडाले आइतबारका लागि पेशी तोक्न आदेश दिएको थियो । आइतबार सन्दीपको मुद्दा हेर्दा हेर्दैमा रहेको थियो ।


उच्च अदालत पाटनको आदेशपछि सन्दीप पुस २९ मा २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । धरौटीमा रिहा भए पनि सन्दीपविरुद्धको मुद्दा अझै विचाराधिन अवस्थामा छ ।

नाबालिगलाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पूर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।

कार्तिक १८ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

भदौ पाँच गते काठमाडौंको एक होटलमा लगेर नाबालिगलाई दुई पटक बलात्कार गरेको आरोप सन्दीपमाथि लागेको थियो । पीडित नाबालिगले भदौ २१ गते प्रहरी बृत गौशालामा जाहेरी दिएकी थिइन् । प्रहरीले आत्मासमर्पण गरेका सन्दीपलाई असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।