बराबरीले सेभियाको मौका चुक्यो

मड्रिड, (खेलाडी)- इल्चेसँग गए राति १-१ को बराबरीमा चित्त बुझाउँदा सेभियाले स्पेनिस ला लिगाको शीर्ष स्थानमा एक्लो पकड जमाउने अवसर गुमाएको छ । 

शनिबार राति भएका खेलका नतिजापछि ला लिगाको शीर्ष स्थानमा तीन खेलमा सात अंक जोड्दै चार टोली छन् । गोलअन्तरमा सबभन्दा माथि रहेको रियाल मड्रिड शीर्ष स्थानमा रहँदा सेभिया दोस्रो, भ्यालेन्सिया तेस्रो तथा रियाल मायोर्का चौथो स्थानमा छन् । 

फिडेल काभासको पासमा इन्जो रोले गोल गर्दै इल्चेलाई ११औं मिनेटमा घरेलु मैदानमा अग्रता दिलाएका थिए । 

मार्कुस एकुनाको पासमा युसुफ इन नासिरीले मध्यान्तर हुन पाँच मिनेट बाँकी रहँदा गोल गरेर सेभियालाई खेलमा फर्काए । तर त्यसपछि पाएका थुप्रै अवसरलाई गोलमा परिणत गर्न नसक्दा सेभिया नयाँ सिजनमा सत प्रतिसत नतिजायात्रालाई निरन्तरता दिनबाट पनि चुक्यो । 

स्पेनिस ला लिगामा शनिबारै भएको अर्को खेलमा रियाल सोसिडाडले लेभान्टेमाथि १-० को जित हासिल गर्‍यो । 

सोसिडाडको जितमा एन्डर बारेनेट्साले गोल गरेका थिए । मध्यान्तर हुन तीन मिनेट बाँकी रहँदा डेविड सिल्भाको पासमा उनले गरेको एउटै गोल सोसिडाडको जितका लागि पर्याप्त भयो ।