धोनीको चेन्नईले हरायो मुम्बईलाई 

दुबई, (खेलाडी)- कोभिड १९ महामारीका कारण गत मे महिनामा भारतमा स्थगित भएको इन्डियन प्रिमियर लिग (आइपिएल) आइतबार संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा पुनः सुरु हुँदा महेन्द्रसिंह धोनीको चेन्नईले विजयी सुरुआत गरेको छ ।

मुम्बई इन्डियन्सलाई २० रनले पराजित गर्दै धोनीको चेन्नईले विश्व क्रिकेटको सबभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिता आइपिएलको दोस्रो चरणमा विजयी सुरुआत गर्यो । 

एक सय ५७ रनको विजयी लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको मुम्बई इन्डियन्सलाई चेन्नईले १३६/८ मा रोकेको थियो ।

सौरभ तिवारीले अविजित अर्धसतक बनाउनाका बावजुद मुम्बईलाई जित दिलाउन सकेनन् । ४० बल सामना गरेका सौरभले पाँच चौका प्रहार गरेका थिए । 

मुम्बईका लागि ओपनर जोडी क्विन्टन डी ककले १७ तथा अनमोलप्रित सिंहले १६ रन बनाए । यसैगरी कप्तान किरन पोलार्ड र एडम मिल्नेले समान १५ रनको योगदान गरे । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर गर्न सकेनन् । 

चेन्नईका लागि ड्वाइन ब्राभोले तीन विकेट लिए भने दीपक चहरले दुई तथा जोश हाज्लेउड र सार्दुल ठाकुरले एक/एक विकेटमा नाम लेखाए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको चेन्नईले ऋतुराज गाइकवार्डको ८८ रन मद्दतमा ६ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो । 

ओपनर फाफ डु प्लेसीसहित मोइन अली र अम्बाती राइडु खाता खोल्न नपाउँदै पवेलियन फर्किएको इनिङमा चेन्नईका लागि गाइकवार्डले ५८ बलमा नौं चौका र चार छक्कासहित ८८ रन बनाएका थिए । 

चेन्नईका लागि रविन्द्र जडेजाले ३३ बलमा एक चौकासहित २६ र ड्वाइन ब्राभोले आठ बलमा तीन छक्कासहित २३ रन बनाए । कप्तान महेन्द्रसिंह धोनी तीन रनमै पवेलियन फर्किएको खेलमा चेन्नईका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर गर्न सकेनन् । 

मुम्बई इन्डियनका लागि ट्रेन्ट बोल्ट, एडम मिल्ने र जसप्रित बुमराले समान दुई विकेट लिए । 

आइतबारको जितसँगै आठ खेलमा १२ अंक जोडेको चेन्नई आइपिएल अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान १२ अंक भए पनि रनरेटमा पछि परेका कारण दिल्ली क्यापिटल्स दोस्रो स्थानमा छ । मुम्बई भने आठ खेलमा आठ अंकका साथ चौथो स्थानमा सीमित छ । 

प्रतियोगितामा भोली सोमबार नेपाली समयअनुसार वेलुकी पौने आठ बजे कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्लोरबीच खेल हुनेछ ।