रोमामाथि भेरोनाको रोमाञ्चक जित

रोम, (खेलाडी)- एएस रोमाले शनिबार राति भेरोना भ्रमणमा ३-२ को हार भोगेपछि टोली इटालियन सिरी ‘ए’को शीर्ष स्थानमा उक्लिने अवसरबाट चुकेको छ । 

लोरेन्जो पेलेग्रिनीको गोलमा मध्यान्तर हुन नौं मिनेट बाँकी रहँदा अग्रता लिए पनि रोमाले पराजय भोगेको थियो । हेलास भेरोनाका लागि घरेलु मैदानमा एन्टोनिन बाराकले ४९औं मिनेटमा बराबरी गोल गरे भने ५४औं मिनेटमा जियानलुका काप्रारीले गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाए । 

भेरोनाका इभान इलिचले ५८औं मिनेटमा आत्मघाति गोल गरेपछि रोमाले खेल बराबरीमा ल्याएको थियो । तर ६३औं मिनेटमा मार्को डाभिडे फाराओनीले भेरोनाका लागि गरेको गोल निर्णायक बन्दा रोमा निराश भएको थियो । 

हारपछि चार खेलमा नौं अंकमा सीमित भएको रोमा चौथो स्थानमा छ । समान अंक जोडेका एसी मिलान र नेपोली गोलअन्तरमा माथि रहेका कारण दोस्रो तथा तेस्रो स्थानमा छन् भने गोलअन्तरमा पछि रहेको फियोरेन्टिना पाँचौं स्थानमा छ । 

सिरी ‘ए’को नयाँ सिजनको चार खेलमा पहिलो जित हासिल गरेको भेरोना भने १४औं स्थानमा छ । 

नवप्रवेशी सालेमिटानाको शीर्ष डिभिजनमा पहिलो जितको खोजी चौथो खेलमा पनि पूरा भएन । टोली शनिबार राति एट्लान्टासँग १-० को नतिजामा पराजित भयो । 

यसैगरी इटालियन सिरी ‘ए’मा शनिबारै सम्पन्न अन्य खेलमा साम्पडोरियाले इम्पोलीमाथि ३-० को जित हासिल गर्यो भने स्पेजियाले भेनेजियालाई २-१ को नतिजामा हरायो । लाजियो र काग्लियारीले २-२ को बराबरी नतिजा निकाले ।