टेनिस

गण्डकी र सेनालाई टेनिसको टिम इभेन्ट्समा स्वर्ण

पोखरा । घरेलु प्रदेश गण्डकीका प्रदीप खड्का, अनिल साई, आशिष खड्का, सौगात बिक र विवेक मगरको टोलीले सोमबार नवौं वृहत राष्ट्रिय खेलकुद अन्तर्गत टेनिसको टिम इभेन्ट्समा स्वर्ण पदक जितेका छन् ।

पोखरा रंगशाला परिसरस्थित टेनिस कम्प्लेक्समा जारी प्रतियोगिताको फाइनलमा गण्डकीको टिमले प्रणव खनाल, अकिजुवेन रावत, निहाल जंगबहादुर थापा र गोविन्द नेपाल सम्मिलित नेपाली सेनाको त्रिभुवन आर्मी क्लब टिमलाई २-१ को नतिजामा हराउँदै स्वर्ण पदक जितेको थियो । आर्मीको टोलीले रजत पदकमा चित्त बुझायो ।

यसअघि सेमिफाइनलमा गण्डकीको टिमले एपिएफका सन्तोष खत्री, आयुष्मान हजुर घले, श्रीयोग अधिकारी, निश्चल कायस्थ र देवआशिष रेउलेको टोली तथा आर्मीले नेपाल पुलिसका आर्यन गिरी, प्रणव मानन्धर र प्रशिद्द मोक्तानको टिमलाई २-१ को समान अन्तरमा पराजित गरेका थिए । सेमिफाइनलमा पराजित भएका दुवै टोलीले कांस्य पदक पाए ।

यसैगरी महिला टिम इभेन्ट्समा सेनाले स्वर्ण, एपिएफले रजत तथा पुलिस र बागमतीले कांस्य पदक जिते ।

फाइनलमा आर्मीका अभिलाषा बिष्ट, आइरा एम रावत, इशाश्री शाह र सुभांगी लक्ष्मी शाहको टिमले एपिएफको सर्भानी श्रेष्ठ, सुनिरा थापा र दिभ्ना कार्कीको टिमलाई ३-० को नतिजामा हराउँदै स्वर्ण पदक जितेको थियो ।

यसअघि सेमिफाइनलमा आर्मीले बागमतीका प्रकृति श्रेष्ठ, रायना शाह र आध्या पौडेलको टिमलाई ३-० तथा एपिएफले पुलिसका आइसा डोलकर गुरुङ र प्रसंशा मोक्तानको टिमलाई ३-० कै नतिजामा हराएका थिए ।

सोमबार दिउसोसम्म सम्पन्न खेलको नतिजाअनुसार महिला युगलमा आर्मीको अभिलाषा बिष्ट र इरा रावत तथा इशाश्री शाह र सुभांगी लक्ष्मी शाहको जोडीसँगै एपिएफको सुनिरा थापा र सर्वानी श्रेष्ठ तथा बागमतीका प्रकृति श्रेष्ठ र रैना शाहको जोडीले सेमिफाइनल यात्रा तय गरेर कम्तिमा कांस्य पदक पक्का गरिसकेका छन् ।

सेमिफाइनलमा अभिलाषा र इराको जोडीले सुनिरा र सर्वानी तथा इशाश्री र सुभांगीको जोडीले प्रकृति र रैनाको जोडीसँग प्रतिस्पर्धा गर्नेछन् ।

पुरुष युगलमा गण्डकीका प्रदीप खड्का र अनिल शाही, बागमतीका निशान श्रेष्ठ र प्रितम परियार, गण्डकीकै आशिष खड्का र सौगात बिक तथा आर्मीका प्रणव खनाल र अकिजुबेन रावतको जोडीले सेमिफाइनल प्रवेश गरेर कांस्य पदक पक्का गरेका छन् ।

सेमिफाइनलमा प्रदीप र अनिलको जोडीले निशान र प्रितम तथा आशिष र सौगातको जोडीले प्रणव खनाल र अकिजुवेनको जोडीसँग प्रतिस्पर्धा गर्नेछ ।

महिला एकलमा आर्मीकी अभिलाषा श्रेष्ठ र इरा एम रावत तथा बागमतीकी रैना शाह र प्रकृति श्रेष्ठले सेमिफाइनलको यात्रा गरेका छन् ।

अन्तिम आठको खेलमा अभिलाषाले एपिएफका सुनिरा थापालाई ६-२, ६-१, इरा एमले एपिएफकी सर्वानीलाई ६-०, १-६, ६-४, रैनाले पुलिसकी प्रशंसा मोक्तानलाई ६-३, ५-७, ६-१ तथा प्रकृतिले पुलिसकै आयशा डोलकर गुरुङलाई ६-०, ६-१ को नतिजामा हराएका थिए ।

पुरुष एकलमा गण्डकीका प्रदीप खड्का र एपिएफका सन्तोष खत्रीले सेमिफाइनल यात्रा गरेका छन् । क्वार्टरफाइनलमा सन्तोषले पुलिसका प्रणव मानन्धरलाई ७-६, ६-२ तथा प्रदीपले आर्मीका अकिजुबेन रावतलाई ६-४, ६-० को नतिजामा हराएका थिए ।

त्यस्तै मिश्रित युगलमा आर्मीका प्रणव खनाल र अभिलाषा बिष्टको जोडीले एपिएफका सन्तोष खत्री र सर्वानी श्रेष्ठको जोडीलाई ६-३, ६-२ को नतिजामा हराउँदै अन्तिम चारको यात्रा गर्यो । गण्डकीका अनिल शाही र प्रिती बरालको जोडीले बागमतीका राजन दुवाल र आध्या पौडेलको जोडीलाई ६-२, ६-० ले हराएर सेमिफाइनल पुग्यो ।

यसैगरी आर्मीका गोविन्द नेपाली र इशाश्री शाहले गण्डकीका सौगात बिक र श्रीया भट्टराईको जोडीलाई ६-०, ६-४, तथा पुलिसका आर्यन गिरी र आयशा डोलकर गुरुङको जोडीले बागमतीका निशान श्रेष्ठ र प्रकृति श्रेष्ठको जोडीलाई ६-४, ६-४ को नतिजामा हराएर अन्तिम चारको यात्रा पक्का गरे ।