युएस ओपन

पहिलो ग्रान्ड स्लामको खोजीमा रुड र अल्कारेज

न्युयोर्क । कास्पर रुड र कार्लोस अल्कारेज विश्व टेनिसमा नयाँ स्टार बन्ने संघारमा छन् । यी दुई आज युएस ओपनको फाइनलमा आमने सामने हुँदैछन् र दुवै खेलाडी पहिलो ग्रान्ड स्लामको पर्खाइमा छन् । 

यी दुईबीचको विजेताले आगामी केही दिनमै विश्व नम्बर एक बन्ने पक्का छ । साविकका विजेता ड्यानियल मेडभेडेभ र कीर्तिमानी २२औं पटकका ग्रान्ड स्लाम विजेता राफेल नाडाल प्रतियोगिताको चौथो चरणबाट बाहिरिए भने कोभिड १९ विरुद्धको खोप नलगाएकै कारण नोभाक जोकोभिच प्रतियोगितामा सहभागि हुन पाएनन् ।

पाँचौ वरियताका रुड र तेस्रो वरियताका अल्कारेज विश्व टेनिसमा आफूलाई नाडाल, मेडभेडेभ र जोकोभिचजस्तै सधै ग्रान्ड स्लामको दाबेदारको रुपमा आफ्नो पहिचान बनाउन चाहन्छन् ।

रुडले जुनमा पहिलो पटक ग्रान्ड स्लामको फाइनलमा स्थान बनाएका थिए । उनी फ्रेन्च ओपनको फाइनलमा नाडालसँग पराजित भएका थिए । १९ वर्षका अल्कारेजको भने यो पहिलो ग्रान्ड स्लाम फाइनल हो । क्वार्टरफाइनलमा माटियो ब्रेटेनीलाई हराएका रुडले सेमिफाइनलमा निक किर्गियोसलाई निराश पारेका थिए । 

अल्कारेजले मियामीको फाइनलमा रुडलाई ७-५,६-४ले हराएका थिए । जसले उनको मनोबल बढेको छ । उनले क्वार्टरफाइनलमा यानिक सिनर र सेमिफाइनलमा फ्रान्सेज टियाफोलाई हराएका थिए ।