विम्बल्डन

विम्बल्डन: सेमिफाइनलमा हालेप र राइबाकिना भिड्दै

लन्डन । वर्षको तेस्रो ग्रान्डस्लाम– विम्बल्डनको महिला सिङ्गल्सतर्फ फाइनलमा स्थान बनाउन रोमानियाकी सिमोना हालेप र कजाकस्तानकी एलिना राइबाकिना भिड्दै छन् । सन् २०१९ मा विम्बल्डन च्याम्पियन बनेकी हालेप त्यसयता पहिलो पटक विम्बल्डन खेल्दैछिन् ।

सन् २०१९ को फ्रेन्च ओपनबाट ग्रान्डस्लाममा डेब्यू गरेकी राइबाकिनाको भने पहिलो पटक ग्रान्डस्लामको सेमिफाइनलमा पुगेकी हुन्।

हालेप पहिलो चरणमा क्यारोलिना मुकोभा, दोस्रो चरणमा क्रिस्टेन फ्लिपकेन्स, तेस्रो चरणमा माग्डालेना फ्रेच र चौथो चरणमा पउला बडोसालाई पराजित गर्दै क्वार्टरफाइनलमा पुगेकी थिइन् ।

क्वार्टरफाइनलमा अमान्डा अनिसिमोभालाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेकी हुन् ।

यस्तै राइबाकिनाले पहिलो चरणमा कोको भान्डेवेग, दोस्रो चरणमा बियान्का एन्ड्रेस्चु, तेस्रो चरणमा क्विनवेन झेङ र चौथो चरणमा पेट्रा मार्टिचलाई पराजित गर्दै पहिलो पटक क्वार्टरफाइनल यात्रा तय गरेकी थिइन् ।

क्वार्टरफाइनलमा अस्ट्रेलियाकी एैला टोम्लियानोभिचलाई २–१ सेटको रोमाञ्चक नतिजामा पराजित गर्दै सेमिफाइनलमा हालेपसँगको भेट निश्चित गरेकी हुन् ।

बिहीबार नै हुने अर्को सेमिफाइनलमा विश्व नम्बर तीन ओन्स जाबेर र १०० वरीयताभन्दा बाहिरकी टाटियाना मारिया भिड्दै छन् ।