विम्बल्डन

मरे दोस्रो चरणमा

लन्डन । एन्डी मरे मंगलबार जेम्स डकवर्थलाई पराजित गर्दै विम्बल्डनको दोस्रो चरणमा प्रवेश गरेका छन् ।

दुई पटकका विम्बल्डन विजेता मरेले अस्ट्रेलियाका डकवर्थलाई निराश पार्न दुई घण्टा ४३ मिनेट खर्चिएका थिए । उनले डकवर्थमाथि ४-६,६-३,६-२,६-४ को जित निकाले ।

सन् २०१७ पछि मरेको विम्बल्डनमा यो दोस्रो सहभागिता हो । गत संस्करणमा मरेले तेस्रो चरण सम्मको यात्रा तय गरेका थिए । उनले सन् २०१६ मा विम्बल्डन जितेका थिए । मरेले घरेलु समर्थकमाझ सेन्टर कोर्टमा खेल्न पाउँदा निकै खुशी लागेको र यो अवसर खेर जान नदिने बताए ।

‘घरेलु समर्थकमाझ पुनः कोर्टमा फर्कन पाएकोमा निकै हर्षित छु’, मरेले भने, ‘म अहिले स्वभाविक लयमा छु र समर्थकमाझ पाएको अवसर खेर जान दिने छैन ।’

मरेले बुधबार दोस्रो चरणमा अमेरिकन जोन इन्सको सामना गर्नेछन् । उनले जोनमाथि पछिल्लो आठ खेलमा लगातार जित निकालेका छन् ।