खुला टेबल टेनिस प्रतियोगिता

खुला टेबल टेनिस प्रतियोगिताः संयोग र नविता च्याम्पियन

काठमाडौं । नेपाल प्रहरीका संयोग कपाली र नविता श्रेष्ठ १२ औं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबल टेनिस प्रतियोगितामा च्याम्पियन बनेका छन् । संयोग पुरुष तथा नवीता महिला सिंगल्समा च्याम्पियन बनेका हुन् । 

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सोमबार भएको पुरुष फाइनलमा संयोगले आफ्नै क्लबका विनेश खनियाँलाई ११-९, ७-११, १५-१३, १३-११ र १४-१२ को सेटमा पराजित गरे । एभीएम टेबलटेनिस क्लबका रुविन महर्जन र गल्कोपाखा सेवा समाजका चन्दन शाही तेश्रो स्थानमा रहे ।

महिलाको उपाधि भिडन्तमा राष्ट्रिय च्याम्पियन नविताले सौभाग्य ज्वेलर्सकी रविना महर्जनलाई १-११, ११-३, १-८, ११-४, ७-११ र ११-४ को सेटमा हराइन् । प्रहरीका मन्जु सुवाल र यशस्वी अवालले तेश्रो स्थान हासिल गरे ।  

पुरुष/ महिला दुवैमा शीर्ष तीनमा रहनेले क्रमशः ५० हजार, २५ हजार र १०/१० हजार नगद पुरस्कार जिते ।

अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा काठमाडौं जिल्ला टेबलटेनिस संघद्धारा आयोजित प्रतियोगिताको महिला टिम इभेन्टमा प्रहरी पहिलो भयो । प्रहरीले फाइनलमा सौभाग्य ज्वेलर्सलाई ३-१ ले पाखा लगायो । प्राइम ग्लोबल र कान्तिपुर भ्याली पिङपोङ क्लब तेश्रो भए ।

मिडियाको पुरुष सिंगल्स फाइनलमा मनोहरी थापाले मदन आचार्यलाई ११-३, ११-८ र ११-८ को सोझो सेटमा पन्छ्याउदै पहिलो स्थान हात पारे । सुमन प्रधान तेश्रो स्थानमा रहे ।

प्रतियोगिताको कलेजतर्फ दुई स्वर्ण र एक कास्यका साथ प्राइम टिम च्याम्पियन बन्यो । स्कुलतर्फ श्रृजना ज्ञान सागर एक स्वर्ण, दुई रजत र चार कांस्य जित्दै समूह विजेता भयो ।

‘टेबलटेनिस फर अल’ नाराका साथ भएको पाँचदिने प्रतियोगितामा विभिन्न ३४ स्पर्धामा तीन सय खेलाडीले सहभागिता जनाएका थिए ।