सहिद स्मारक ‘ए’ डिभिजन लिग

टोलीले विस्तारै लय समात्दै छः प्रशिक्षक केसी

फाइल तस्बिर

काठमाडौं । थ्री स्टार क्लबका मुख्य प्रशिक्षक मेघराज केसीले टोलीले विस्तारै लय समात्दै गएको बताएका छन् । 

सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत सोमबार सम्पन्न खेलमा सातादोबाटो युथ क्लबलाई १-० ले पराजित गरेपछिको पत्रकार सम्मेलनमा केसीले खेलाडीमा तालमेल मिल्न थालेकाले टोलीले लय समात्दै गएको प्रतिक्रिया दिएका हुन् ।

 ‘चौथो खेलमा आएर बल्ल हामीले एउटा टोलीको जस्तो प्रदर्शन गर्न सक्यौं । आज खेलाडीमा तालमेल मिलेको थियो’,केसीले भने‘,टोलीको प्रदर्शनप्रति सन्तुष्ट छु । सुरुआत देखि नै आक्रमण गरेको भए पनि खेलको अन्त्य तीर मात्रै गोल आयो । टोली अझै पनि निमार्णकै क्रममा छ,  त्यसैले कस्तो प्रदर्शन गर्ला भन्ने थियो । टोली विस्तारै बलियो बन्दै लय समात्दै छ । यो जितले हाम्रो हौसला बढाएको छ । ’ 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको ८९ औं मिनेटमा आदित्य शाक्यले गरेको गोल सातदोबाटोलाई लिगमा पहिलो हार चखाउन निर्णायक बनेको थियो । 

यस्तै सातदोबाटोका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले टोलीलाई पर्याप्त आराम नमिलेको र पानी परेका कारण खेल्न गाह्रो भएको बताए । 

‘हामीले एक दिन मात्र आराम गर्न पायौं । त्यसमाथि पानी परेकाले थप गाह्रो भयो’,श्रेष्ठले भने,‘ विदेशी खेलाडीलाई प्रेसर हुन्छ भनेर दुई फरवार्ड खेलाएका थियौं । तर सफल भने भएन । राम्रोसँग म्यान मार्किङ नभएकाले गोल खान पुग्यौं त्यही नै खेलको टर्निङ प्वाइन्ट बन्यो । आज फिनिसिङमा पनि केही कमजोरी देखिएको थियो ।’