सरकारको नीति तथा कार्यक्रम

दुई वर्ष भित्रमा कीर्तिपुर र मुलपानी क्रिकेट मैदानको स्तरोन्नति हुने

फाइल तस्बिरः कीर्तिपुरस्थित त्रिभुव विश्वविद्यालयको क्रिकेट मैदान

काठमाडौं  सरकारले दुई वर्षभित्र कीर्तिपुरस्थित त्रिभुव विश्वविद्यालय र मुलपानी क्रिकेट मैदानको स्तरोन्नति गरी अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सकिने व्यवस्था गर्ने घोषणा गरेको छ ।

संघीय संसदको संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दे राष्ट्रपति रामचन्द्र पौडेलले दुई वर्ष भित्र दुवै मैदानको स्तरोन्नती गरी अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन गरिने घोषणा गरेका हुन् ।

यसैगरी चितवनको भरतपुर, कैलालीको फाप्ला, बैतडीको दशरथचन्द र मोरङको विराटनगर क्रिकेट रंगशाला पूर्वाधार निर्माण कार्य अघि बढाउने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।

यस्तै हरेक विद्यालयमा खेल शिक्षक व्यवस्था गरिने, वार्षिक खेलकुद क्यालेन्डर तयार गरी अन्तरपालिक तथा प्रदेशस्तरीय प्रतियोगिता आयोजना गरिने कार्यक्रम छ। एक वडा एक खेल मैदान, एक पालिक एक कभर्ड हल निर्माण गरिने उल्लेख छ।

खेलकुद राष्ट्रको पहिचान, गौरव र प्रतिष्ठा बढाउने माध्यमको रूपमा विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिता आयोजना गर्न जोड दिने राष्ट्रपतिले बताए।

अन्तर्राष्ट्रिय स्तरका खेलकुद प्रतियोगितामा पदक हासिल गर्ने खेलाडीलाई प्रोत्साहन एवं पुरस्कृत गरिने पनि कार्यक्रममा समेटिएको छ।

खेलकुद पूर्वाधारको दिगो व्यवस्थापनका लागि स्थानीय तथा प्रदेश सरकारको सहभागितामा बढाउँदै लगिने तथा खेलकुद पर्यटनको विकास तथा विस्तार हुने खेलकुद पूर्वाधार सार्वजनिक नीजि साझेदारी निर्माण गर्न प्रोत्साहन गरिने राष्ट्रपतिले नीति तथा कार्यक्रममार्फत बताए।