आइडब्लुएल

गोकुलम फाइनलमा

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी सम्मिलित गोकुलम केरला एफसी इन्डियन वुमन्स लिगमा (आइडब्लुएल)को सेमिफाइनलमा प्रवेश गरेको छ ।

साविक विजेता गोकुलमले शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा  इस्टर्न स्पोर्टिङ्ग एफसीमाथि ५-१ को सहज जित निकालेको हो ।

गोकुलमको जितमा सावित्रा र इन्दुमाथी कथिरेसनले समान दुई तथा विभियन कोनाडु एडजेइ एक गोल गरे । इस्टर्न स्पोर्टिङ्गका लागि यमनाम कमला देवीले एक गोल गरिन् ।

खेलमा अग्रता भने इस्टर्न स्पोर्टिङ्गले लिएको थियो । खेलको १८औं मिनेटमा कमला देवीले इस्टर्न स्पोर्टिङ्गलाई अग्रता दिलाएकी थिइन् ।

३१औं मिनेटमा किथरेसनले पेनाल्टीमार्फत गोल गर्दै गोकुलमलाई बराबरीमा ल्याइन् । पहिलो हाफको इन्जुरी समयमा सावित्राले गोल गर्दा गोकुलम २-१ ले अघि बढ्यो ।

५५औं मिनेटमा एडजेइले गोल गर्दै गोलकुलमलाई ३-१को अग्रता दिलाइन् । ७०औं मिनेटमा किथरेसन ब्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो  गोल गरिन् ।

खेलको इनजुरी समयमा सावित्राले ब्यक्तिगत दोस्रो गोल गर्दा गोकुलमले ५-१ को सशज जित निकाल्यो ।

गोकुलमले ओडिसा एफसीलाई पेनाल्टी सुटआउटमा ३-० ले तथा इस्टर्न स्पोर्टिङ्गले नेपाली टोलीकी फरवार्ड रेखा पौडेल सम्मिलित स्पोर्टस ओडिसालाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए ।

गोकुलमले आइतबार हुने फाइनलमा किकस्टार्ट एफसीको सामना गर्नेछ । किकस्टार्टमा नेपाली महिला टोलीका मिडफिल्डर सरु लिम्बु र रेनुका नगरकोटे आबद्ध छन् ।

किकस्टार्टले नेपाली टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बाप्पो सुक्बा सम्मिलित सेथु एफसीलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।