ओलम्पिक दिवस

रंगशालामा प्रि स्कुलको ओलम्पिक दिवस

काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा प्रि स्कुलका विद्यार्थीहरुले शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ओलम्पिक दिवस मनाएका छन् ।

नेपाल ओलम्पिक कमिटीअन्तर्गत स्पोर्ट्स फर अल कमिसनले आयोजना गरेको कार्यक्रममा विभिन्न ५२ विद्यालयका एक हजार बढी विद्यार्थीको सहभागिता थियो । सो अवसरमा ओलम्पिक टर्च रिले गर्नुका साथै झण्डोतोलन पनि गरिएको थियो ।

ओलम्पिक दिवसकै अवसरमा बाग्मती सरसफाइ गरिएको र स्वयभूमा मोर्डन पेन्टाथलनको प्रतियोगिता सम्पन्न भएको कमिसनले जनाएको छ । प्रतियोगितामा ७५ प्रतिस्पर्धी सहभागी थिए । आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा कलाकारको फुटबल हुँदैछ । ओलम्पिक दिवसलाई भब्य रुपमा मनाउन सातै प्रदेशका विभिन्न जिल्लामा कार्यक्रम भइरहेको कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले जनाएका छन् ।